एडमको शतकमा पोखराको जित,कर्णाली ‘प्लेअफ’बाट बाहिरियो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लगातार चौथो हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।

गत सिजन प्ले अफ खेलेको कर्णालीले एनपीएलमा लगातार चौथो हार व्यहोर्दै एक खेल अगावै प्लेअफ दौडबाट बाहिरिएको हो। मंगलबार भएको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो।

लिग चरणको पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनको हार भोगेको कर्णालीले चौथो खेलमा विराटनगर किंग्ससँग तीन विकेटको हार व्यहोरेको थियो।

लिग चरणको पाँचौँ खेलमा काठमाडौंसँग पनि कर्णाली पाँच विकेटले नै पराजित भएको थियो । अब लिग चरणको अन्तिम खेलमा कर्णालीले जनकपुर बोल्ट्सविरुद्ध खेल्नेछ।

यता कर्णालीलाई पराजित गरेसँगै पोखराको प्लेअफ सम्भावना कायमै छ। पोखराले अब चितवन राइनोज र काठमाडौं गोर्खाजसँग खेल्नेछ।

लिग चरणमा पोखरा लुम्बिनी लायन्ससँग तीन विकेटले पराजित हुँदा जनकपुरलाई २५ रनले हराएको थियो । सुदूररपश्चिमसँग १८ तथा विराटनगरसँग ५३ रनले पराजित भएको थियो। कर्णालीलाई हराएपछि तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै पोखरा चार अङ्कमा पाँचौँ स्थानमा उक्लेको छ।