जेनजी सरकार जनताको आदेशमा बनेको हो: नेता महर
काठमाडौं। नेपाली काँग्रेसका नेता नैनसिंह महरले जेनजी आन्दोलनबाट बनेको सरकार जनताको आदेशले बनेको टिप्पणी गरेका छन्।
वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका वेला उनले जेनजी आन्दोलनमा जनताले दिएको आदेशानुसार सरकार बनेको बताएका हुन्। नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहित छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे।
उनले सो आन्दोलनमा घुसपैठ हुनु, राष्ट्रिय धरोहर भत्काइनु उचित नभए पनि जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए। नेता महरले सरकारले पर्याप्त काम गर्न नसक्दाको परिणाम जेनजी आन्दोलन भएको र त्यसले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूलाई निर्देश गरेको स्पष्ट पारे।
बुधवार काठमाडौंमा आफूले रचना गरेको गीत बन्छ बन्छ, मेरो देश बन्छ सार्वजनिक कार्यक्रममा बोल्दै उनले देश र जनताको पक्षमा राजनीति गर्नेहरूले पर्याप्त काम नगरेपछि आफूले देश बनाउने आशा उमार्न उक्त गीत रचना गरेको खुलासा गरे।
नेता महरले भने, ‘संविधानमा लेखिएको छ- सार्वभौमसत्ता जनतामा निहित। त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि जनतामा हुन्छ। जनताले बनाएको संविधान उसलाई मन लाग्यो भने निर्देश गर्छ। नयाँ आन्दोलनबाट परिवर्तन हुन्छ। त्यो जनताको अधिकार हो। अहिले जननिर्वाचित सरकार नभए पनि जनताको आन्दोलन बनेको सरकार हो।
कार्यक्रममा बोल्दै राष्ट्रिय गानका लेखक प्रदीपकुमार राई ‘व्याकुल माइला’, वरिष्ठ गीतकार भोलाप्रसाद रिजाललगायतका वक्ताले मुलुकलाई अघि बढाउने दिशामा राजनीतिक पार्टीहरू प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।
