बालुवाटारको सर्वपक्षीय बैठक शुरू,को-को उपस्थित छन् ?

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि बोलाएको सर्वपक्षीय बैठक सुरु भएको छ। प्रधानमन्त्री कार्कीले बोलाएको बैठक बालुवाटारमा प्रमुख राजनीतिक दल,निर्वाचन आयोग,सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरूको उपस्थितिमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ।

बालुवाटार बैठकमा निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी,आयुक्त जानकीकुमारी तुलाधर, आयुक्त सगुनशमशेर राणा, सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई,सहसचिव यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसी सहभागी रहेका छन्।

त्यस्तै राजनीतिक दलहरूबाट नेपाली कांग्रेसका गगन थापा र पुष्पा भुसाल,नेकपा एमालेबाट शङ्कर पोखरेल र महेश बर्तौला,नेपाली कम्युनिष्ट पार्टीबाट शक्ति बस्नेत र प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमतबाट नरेन्द्र चौधरी सहभागी छन्।

त्यस्तै बैठकमा सरकारबाट प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल सहभागी रहेका छन् भने ४ वटै सुरक्षा निकाय प्रमुख पनि बैठकमा उपस्थित रहेका छन्।