मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यावलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो । सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्री बनेका हुन् । काङ्ग्रेस जसपा नेपाल जनमत नेकपा माओवादी केन्द्र लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट गरेका थिए। सर्वोच्च अदालतले गत मङ्सिर १५ गते २४ घण्टाभित्र तत्कालीन सरकारलाई विश्वासको मत लिन र लिन नसके संविधानको धारा १६८ को दुई बमोजिम अर्को सरकार गठनको लागि परमादेश जारी गरेको थियो।