विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो। एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ।

लगातार दुई क्वालिफायर खेल्दा पनि विराटनगर उपाधि दौडबाट बाहिरिएको हो। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर सोही लयलाई निरन्तरता दिन नसक्दा उपाधि दौडबाट बाहिरिएको हो।

यता लुम्बिनीले भने एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको हो। पहिलो सिजन अङ्क तालिकाको पुछारमा रहेर एनपीएल सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि भिडन्त पक्का गरेको छ।