रौतहटमा ट्रक र कार ठोक्किँदा एक जना वृद्धको मृत्यु

रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशा तर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ओभर टेक गर्ने क्रममा शुक्रवार बिहान ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी कारमा सवार वृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। डीएसपी रुपा लाबुङले मृतक वृद्धको नाम वतन खुल्न नसकेको बताइन्।

डीएसपी लाबुङका अनुसार दुर्घटनामा परी बाराको निजगढ नगरपालिका घर भएका कार चालक दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ। चन्द्रपुर–६ घर भएका डोरमणि सापकोटालाई चोट लागेको प्रहरीले जनाएको छ।