देश परिवर्तन गर्न राजनीतिमा आएका हौँ: कुलमान घिसिङ

चितवन। उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूहरू परम्परागत राजनीति गर्न नभई देशमा वास्तविक परिवर्तन ल्याउन आएको बताएका छन्।

चितवनमा शनिवार आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले देशलाई परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी राजनीति गर्न आएका होइनौँ, देश परिवर्तन गर्न आएका हौँ, उनले भने।

राजनीति र नेतृत्व अलग/अलग कुरा भएको उल्लेख गर्दै घिसिङले नेपालमा प्रचलित राजनीतिक शैलीलाई परिवर्तन गर्न आवश्यक रहेको बताए। ‘नेपालमा जस्तो राजनीति छ, त्यस्तो राजनीति गर्न हामी दल खोलेर आएका होइनौँ। यो बाटो मात्र समातेका हौँ,’ उनले भने।

देशमा परिवर्तन,सुशासन र समृद्धि नभएसम्म अघि बढ्न नसकिने बताउँदै उनले जनताको सेवक बनेर काम गर्न आएको स्पष्ट पारे। ‘देश परिवर्तन भएन, सुशासन भएन र समृद्धि आएन भने मुलुक कहिल्यै अगाडि बढ्दैन,घिसिङले भने, ‘हामी देशको शासक होइन, आम नेपाली जनताको सेवक बनेर परिवर्तनकारी नेतृत्व दिन आएका हौँ।