कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी रहने

काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने छ।

बैठक आज दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको छ। १५औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न कठिन देखिएपछि बैठक बुधबार बसेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यले महाधिवेशन सार्नु पर्ने माग गरेका छन्।

संस्थापन पक्षका नेता महाधिवेशन सार्ने रणनीतिमा लाग्दा इतर पक्ष भने तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने अडानमा छ। कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म महाधिवेशनको मिति तोकेको छ।

बुधबारको बैठकमा बोल्ने अधिकांश सदस्यले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेका छन्। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूची जस्ता प्रस्ताव राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

बैठकपछि बोल्दै महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिकामा रहेको वडा अधिवेशन पुस १६ गतेदेखि २१ गते सारी तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरेको बताए।

उनले विगतमा पनि थुप्रै जिल्लामा केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन भएको भन्दै अहिले पनि पालिका अधिवेशन, प्रदेशसभा, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र सात प्रदेशको अधिवेशन निर्वाचनभन्दा पछि गर्न सकिने बताए। आफूले प्रस्ताव गरेको विकल्प अमान्य भए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने महामन्त्री थापाको भनाइ छ।

यस्तै महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई शक्ति अभ्यासको लालसा त्याग्न चेतावनी समेत दिएका छन्। मिति घोषणा गरेर मात्रै महाधिवेशन नहुने भन्दै थापाले त्यसका लागि तयारीमा लाग्नुपर्ने थापाको भनाइ छ।