प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। काठमाडौंका विभिन्न औषधि पसलमा गई प्रहरी हौं भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक नमोवुद्ध नगरपालिका ५ घर भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका बस्ने ३७ वर्षीय आकाश भन्ने नानीबाबु लामा र दोलखा मेलुङ गाउँपालिका ६ घर भइ काठमाडौं महानगरपालिका ६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ रहेका छन्।
उनीहरुले काठमाडौंका विभिन्न औषधि पसलहरूमा गई आफूहरु लागुऔषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भनि पसलको खानतलासी गर्ने गरेका थिए।
सो क्रममा लागुऔषध तथा अवैध औषधिहरू बेचेको र पक्राउ गर्ने भन्दै डर देखाइ रकम असुली गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।
उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ स्थित औषधि पसलबाट नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट ६ दिन थुनामा राख्न अनुमति लिइ अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ।
