जाँचबुझ आयोगले बयानका लागि केपी ओलीलाई काट्यो पत्र
काठमाडौं। जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।
बयान दिन नजाने बताउँदै आएका ओलीलाई आयोगले पत्र पठाएको हो । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ। लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो।
आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ।
सरकारले असोज ६ गते कार्की नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको हो । तीन महिना म्याद पाएको आयोगले कामकारबाही नसकेपछि एक महिना थपिएको छ।
