फागुन २१ मा निर्वाचन सफल पार्नु सबैको कर्तव्य: नारायणप्रसाद दाहाल
काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गरेका छन्।
प्रमुख दलका नेताहरूले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उनले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गरेका हुन्।
आइतवार काठमाडौंमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौती र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीको साझा कर्तव्य भएको बताए।
उनले संविधानको आवश्यक समीक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलको ध्यानाकर्षण गराए।
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताए।
उनले भने जेनजी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षको यथेष्ट ध्यान जान जरुरी पनि छ। साथै माग ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु हामी सबै नेपालीको साझा कर्तव्य हो भनेर बुझ्न पनि म अनुरोध गर्न चाहन्छु।
अध्यक्ष दाहालले जेनजी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षले यथेष्ट ध्यान दिनुपर्नेमा पनि जोड दिए।

