कांग्रेस,एमाले,नेकपा र जसपा राष्ट्रिय सभामा तालमेलको तयारीमा

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेकपा र मधेशकेन्द्रित जनता समाजवादी पार्टी जसपानेपालबीच तालमेल हुने लगभग निश्चित भएको छ।

कांग्रेस र एमालेले समान ७–७ सिट, नेकपाले ३ सिट र जसपा नेपालले १ सिट पाउने गरी तालमेलको तयारी अन्तिम चरणमा पुगेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन्। तालमेल वार्तामा सहभागी लेखकले भने, कांग्रेस-एमालेलाई ७-७, नेकपालाई ३ र जसपालाई १ सिट दिने गरी सहमति लगभग टुंगिएको छ। संख्यामा सहमति भए पनि क्लस्टर निर्धारण बाँकी छ।

उनका अनुसार साँझसम्म सबै विषय टुंग्याउने तयारी छ । तर सिट संख्यामा नेकपा र जसपा नेपालले पूर्ण रूपमा चित्त नबुझाएको अवस्था रहेको उनले बताए।

कांग्रेसले सुरुमा ८ सिट मागे पनि पछि ७ सिटमा सहमति जनाएकाले नेकपालाई पनि त्यहीअनुसार चित्त बुझाउन नेताहरूले प्रयास गरिरहेका छन्। नेकपाले ४ सिट र जसपा नेपालले २ सिट मागिरहेको लेखकले जानकारी दिए।

राष्ट्रिय सभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगले बुधबार उम्मेदवारी दर्ताको समय तोकेको छ।