निर्वाचन सुरक्षामा नेपाल प्रहरी पूर्ण प्रतिबद्ध छ: डिआईजी काफ्ले
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रहरी प्रवक्ता डिआईजी अविनारायण काफ्लेले बताएका छन्। निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट प्रश्न उठाइएको सन्दर्भमा प्रहरी प्रवक्ताले यो स्पष्टीकरण दिएका हुन्।
नेपाल प्रहरीप्रति नागरिकको विश्वास उल्लेख्य रूपमा बढ्दै गएको र प्रहरी संगठनले संविधान तथा कानुनको दायराभित्र रही निष्पक्ष रूपमा सुरक्षा व्यवस्था मिलाउने डिआईजी काफ्लेले स्पष्ट पारे। निर्वाचनको भित्री घेरामा रही प्रत्यक्ष सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको भएको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थाबारे ढुक्क रहन सबैलाई आग्रह गरे।
जेनजी आन्दोलनका क्रममा प्रहरीका भौतिक संरचनामा पुगेको ठूलो क्षतिपछि पुनर्निर्माणमा नागरिक तहबाट प्राप्त सहयोग अतुलनीय रहेको प्रहरी प्रवक्ताले बताए। आन्दोलनका बेला १४३ भवन पूर्ण रूपमा र ३१६ आंशिक गरी जम्मा ४५९ युनिटमा क्षति पुगेको थियो। तीमध्ये हालसम्म ४४९ युनिट पुनर्निर्माण भई सञ्चालनमा आइसकेका छन्। पुनर्निर्माणको क्रममा नागरिक र प्रहरी संगठनबीचको घनिष्ठ सहकार्यले नेपाल प्रहरीप्रतिको जनविश्वास स्पष्ट रूपमा देखिएको डिआईजी काफ्लेले बताए। नागरिककै सहयोगले गम्भीर परिस्थितिबाट सहज रूपमा बाहिर निस्कन सफल भएको उनको भनाइ छ। नागरिकको सुरक्षाकै लागि स्थापना भएको नेपाल प्रहरी कानुन कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धानमा सदा अग्रपंक्तिमा रहने उनले बताए।
पछिल्लो समय प्रहरीको मनोबल खस्किएको भन्ने विभिन्न टिप्पणी आइरहेका बेला प्रहरी प्रवक्ताले यस्तो धारणालाई निराधार भन्दै खारेज गरेका छन्। प्रहरीको मनोबल कहिल्यै खस्किएको थिएन, न त भविष्यमा खस्किने उनले दाबी गरे। नागरिकसँगको सहकार्य र विश्वास नै प्रहरीको सबैभन्दा ठूलो शक्ति भएको उनको भनाइ छ। नयाँ संगठन प्रमुखको नेतृत्वमा प्रहरी कर्मचारीका सेवा, सुविधा र कल्याणकारी योजनालाई उच्च प्राथमिकता दिइएको पनि डिआईजी काफ्लेले जानकारी दिए। कर्तव्यपालनका क्रममा वीरगति प्राप्त प्रहरीका परिवारलाई क्षतिपूर्ति, आर्थिक सहयोग र आश्रित परिवारलाई रोजगारीको व्यवस्था गरिएको छ। त्यस्तै घाइते प्रहरीको उपचार खर्च र अन्य सुविधामा समेत प्राथमिकता दिइएको उनले बताए।
आगामी निर्वाचन सुरक्षाका लागि ७७ हजार नियमित प्रहरी परिचालन गरिने छ। तर जनशक्ति अपुग हुने भएकाले १ लाख ३३ हजार ९८० म्यादी निर्वाचन प्रहरी भर्ना गरिने डिआईजी काफ्लेले जानकारी दिए। निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ स्वीकृत भइसकेकाले सोही अनुसार प्रक्रिया अघि बढाइने उनले बताए। विसं २०७९ र २०७४ को निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइनेछ। साथै पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा सुरक्षा निकायका आधारभूत मापदण्ड पूरा गरेका व्यक्तिलाई पनि अवसर दिइने छ। १८ देखि ५४ वर्ष उमेर समूहका, नैतिकवान् र फौजदारी अभियोग नलागेका व्यक्तिले मात्र भर्नामा सहभागी हुन पाउने छन्।
निर्वाचन सुरक्षाका लागि मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। प्रहरीका अनुसार २,८४५ मतदानस्थल सामान्य, ४,४४२ संवेदनशील र ३,६८० अतिसंवेदनशील सूचीमा छन्। सोहीअनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। मतदाता, राजनीतिक दल र आमनागरिकको सुरक्षाका लागि नेपाल प्रहरी पूर्ण रूपमा तयार रहेको डिआईजी काफ्लेले बताए।
शान्ति सुरक्षाबारे कसैले डर वा त्रास मान्नुपर्ने अवस्था नभएको उनको भनाइ छ। विगतका चुनौतीपूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अनुभव, सीप र तालिम यसपटक पनि प्रयोग गरी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराइने प्रतिबद्धता डिआईजी काफ्लेले व्यक्त गरेका छन्।
