विशेष महाधिवेशनको एजेण्डाले गगन थापा एक्लिए, सात भाइको राज कायमै राख्न देउवा सक्रिय बन्दै
रनसुर महतारा (रमेश)
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापा फेरि एक्लिएका छन्। आफ्नो राजनीतिक करियरमा सधैँ एक्लै डलेर उदाएका थापाको यो पहिलो अनुभव होइन। हिजो राजतन्त्रविरुद्धको आन्दोलनमा होस् वा अहिले पार्टीभित्र विधि र सुधारको पक्षमा,उनी सधैं आफ्नो बाटो आफैं खन्ने गरेका छन्। तर, यसपटक उनको एक्लोपन केही फरक किसिमको देखिएको छ। विशेष महाधिवेशनको एजेण्डाले उनलाई सभापति शेरबहादुर देउवासँग मात्र होइन, आफ्नै पूर्व सहयोगी शेखर कोइराला पक्षसँग पनि ढाटा बनाएको छ।
पार्टीका शीर्ष नेताहरूबीच बढ्दो तनावको केन्द्रमा रहेका थापाप्रति देउवाको असन्तुष्टि यति बढेको छ कि उनी महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको मुख हेर्न पनि तयार छैनन्। यो मात्र होइन, १४औँ महाधिवेशनमा एउटै प्यानलमा एकअर्कालाई सहयोग गरेका शेखर कोइराला पक्ष नै अहिले गगनलाई एजेण्डामा एक्ल्याउने पक्षमा उभिएको छ। कोइराला पक्ष र वरिष्ठ नेता कृष्णप्रसाद सिटौला सार्वजनिक रूपमै थापामाथि बिष बमन गरिरहेका छन्।
पार्टीभित्र सुधार, नेतृत्व हस्तान्तरण र संस्थागत पुनर्संरचनाको माग गर्दै आएका गगनका एजेण्डा निष्क्रिय पार्ने प्रयास तीव्र बनेको छ। विशेष महाधिवेशनसहित एक्लै चुनावमा जाने, निर्वाचनअघि नेतृत्व परिवर्तन, तथा पार्टी संरचनामा पुस्तान्तरण जस्ता विषयलाई संस्थापन पक्षले जोखिमपूर्ण र फुटको संज्ञा दिँदै आएका छन्। यदि गगनका एजेण्डा कार्यान्वयनमा गए संस्थापन पक्षको दीर्घकालीन पकड मात्र होइन, पार्टीभित्र स्थापित सात भाइको राज समाप्त हुने डर छ।
पार्टीका जानकारहरूका अनुसार थापाले विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरणको बाटो खोल्ने, पार्टीलाई संस्थागत बनाउने र नयाँ नेतृत्वलाई अघि ल्याउने एजेण्डालाई निरन्तरता दिइरहेका छन्। तर, यी एजेण्डा संस्थापन पक्षका लागि जीवन मृत्युको प्रश्न बनेका छन्। पार्टीमा दशकौंदेखि स्थापित सात भाइको समीकरण र शक्ति संरचनालाई गगनका एजेण्डाले सिधै चुनौती दिएको यिनीहरूको ठम्याइ छ।
यही कारण थापाको उदय हुने महाधिवेशनमा जानबाट सात भाइ डराएका मात्र छैनन्, उनीहरूले निष्क्रिय भएका देउवालाई पनि प्रयोग गरिरहेका छन्। सभापति देउवा आफैं पनि आफ्नो नेतृत्वकालमा विशेष महाधिवेशन गर्ने र नेतृत्व हस्तान्तरणको बाटो खोल्ने एजेण्डाप्रति सहज छैनन्। उनको असहजता संस्थापन पक्षले राम्रोसँग प्रयोग गरिरहेको छ।
थापाका लागि अर्को ठूलो झट्का कृष्णप्रसाद सिटौलाबाट आएको छ। गगनलाई महामन्त्रीको उम्मेदवार बनाएर १४औँ महाधिवेशनमा विद्रोहको राजनीतिक फाइदा उठाएका सिटौला स्वयं अहिले असन्तुष्ट देखिनु गगनको लागि नयाँ चुनौती बनेको छ। सिटौलाले सार्वजनिक रूपमै थापाका एजेण्डालाई पार्टीका लागि घातक भनेर आलोचना गरिरहेका छन्।
पार्टी स्रोतका अनुसार गगनका एजेण्डाविरुद्ध एउटा अघोषित गठबन्धन बनिसकेको छ। यस गठबन्धनमा सभापति देउवा, शेखर कोइराला पक्ष, कृष्णप्रसाद सिटौला र संस्थापन पक्षका धेरै नेताहरू छन्। यो गठबन्धनको एउटै लक्ष्य छ -गगनका एजेण्डालाई निष्क्रिय पार्ने र पार्टीको परम्परागत शक्ति संरचना कायमै राख्ने।
तर, थापा आफ्नो एजेण्डाबाट पछि हट्ने मुडमा छैनन्। उनले पार्टीभित्र सुधार र पुस्तान्तरणको माग निरन्तर उठाइरहेका छन्। उनको तर्क छ कि पार्टीलाई आधुनिक र संस्थागत बनाउन यी एजेण्डा अनिवार्य छन्। तर, संस्थापन पक्षको प्रतिरोधले उनलाई फेरि एक्लो बनाएको छ।
गगनको आक्रामक रणनीति, देउवा समूह दबाबमा
कांग्रेसभित्र सत्ता र नेतृत्वको संघर्ष फेरि व्यापक चर्किन थालेको छ। महामन्त्री गगन थापाको आक्रामक राजनीतिकसँगै सभापति शेरबहादुर देउवा नेतृत्वको समूह रक्षात्मक अवस्थामा पुग्ने देखिएको छ। पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक अभिव्यक्तिसम्म गगन पक्षको तीखो प्रश्न, सिधा आरोप र स्पष्ट ‘काउन्टर’ ले देउवा समूहका एकपछि अर्का नेता अप्ठ्यारोमा परिरहेका छन्। कांग्रेसभित्र अहिले ‘मिल्ने कि छुट्टिने’ भन्ने बहस खुला रूपमा सतहमा आएको छ।
पछिल्ला केन्द्रीय समिति र पदाधिकारी बैठकहरूमा गगन थापाले पार्टी सञ्चालन, गठबन्धन नीति, संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिमा सभापति देउवाको भूमिकामाथि खुलेर प्रश्न उठाएका छन्। निर्णय किन सीमित व्यक्तिमा केन्द्रित भयो, संगठन किन कमजोर बन्दै गयो? जस्ता प्रश्न बैठकमै उठ्दा देउवा समूहका नेताहरू स्पष्ट उत्तर दिन नसक्ने अवस्थामा पुगेका छन्। यही कारण बैठकहरू प्रायः तातातात बहसमा परिणत भइरहेका छन्, जहाँ गगन पक्षले ‘सम्झौता होइन, स्पष्टता’ माग गरिरहेको छ।
देउवा समूहका केही प्रभावशाली नेताहरूले गगन थापाको शैलीलाई ‘अतिआक्रामक’ भन्दै असन्तुष्टि जनाइरहेका छन्। तर अर्कोतर्फ पार्टीभित्रको ठूलो हिस्साले गगनको सवाललाई संगठन र विचारको बहसका रूपमा लिएको देखिन्छ। विशेषगरी युवा नेता र कार्यकर्तामाझ गगनको लोकप्रियता बढ्दै जाँदा देउवा समूह झनै दबाबमा परेको छ। यही दबाबका कारण देउवा पक्षका केही नेताहरू सार्वजनिक रूपमा प्रतिवादमा उत्रिन थालेका छन्, तर ती प्रतिवादहरू आफैं उल्टै काउन्टरमा परिरहेका छन्।
कांग्रेसभित्रको यो ‘भयंकर खेल’ केवल व्यक्तिगत टकरावमा सीमित छैन। यसले पार्टीको भावी नेतृत्व, आलोचना, र आगामी निर्वाचनमा जाने मार्ग नै निर्धारण गर्ने संकेत दिएको छ। देउवा नेतृत्व निरन्तरताको पक्षमा देखिँदा गगन थापा परिवर्तनको एजेन्डा बोकेर अघि बढिरहेका छन्। यही कारण पार्टीभित्र ‘अब मिलेर जाने कि आ–आफ्नो बाटो लाग्ने’ भन्ने प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ।
कांग्रेस अहिले निर्णायक मोडमा छ। यदि नेतृत्वले आन्तरिक असन्तुष्टि सम्बोधन गर्न सकेन भने पार्टीभित्रको ध्रुवीकरण अझ हुने सम्भावना छ। तर समयमै सहमति र स्पष्ट राजनीतिक दिशानिर्देश तय गरिए कांग्रेसले यो संकटलाई अवसरमा बदल्न पनि सक्छ। पार्टीभित्रको यो राजनीतिक समीकरणले नेपाली काँग्रेसको भविष्य कता जाने भन्ने प्रश्न पनि खडा भएको छ।
