सुरक्षा निकायले भने- भयरहित र सुरक्षित निर्वाचन गराउन तयार छौँ

काठमाडौं। सुरक्षा निकायहरूले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षितरूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका छन्।

 सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सुरक्षा निकायका प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको उल्लेख गर्दै उनीहरूको सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको जानकारी गराए।

नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलुकको अपरिहार्य आवश्यकता रहेको भन्दै त्यसका लागि नेपाली सेना तयार रहेको बताए।

उनले निर्वाचनको क्रममा हुनसक्ने सुरक्षा खतराहरुको विश्लेषण गरी आवश्यक गृहकार्य भइरहेके समेत उल्लेख गरे। उनले निर्वाचनअगाडि सुरक्षा चुनौती हुनसक्ने वर्गलाई आवश्यक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने बताए।

उनले विगतका अधिकांश बारुदी सुरुङ तथा विस्फोटक पदार्थहरु नष्ट भइसकेको भन्दै कहीँकतै फेला परेमा सूचना आदानप्रदानका आधारमा बम डिस्पोजल टोली परिचालन गरिने बताए।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)उमाप्रसाद चतुरर्वेदीले विस्फोटक पदार्थ भेटिनुभन्दा पनि नयाँ बम बनाउने मानसिकता झनै खतरनाक रहेको टिप्पणी गरे।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्तीहरू निरन्तर सञ्चालन भइरहेको जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको भन्दै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरिने बताए।

उनले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी गराए।

सुरक्षा निकायका प्रतिनिधिहरुले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।