दर्शन :आदर्शवाद र भौतिकवाद बीच भिन्नता
- हस्तबहादुर केसी
दार्शनिक फाँटमा दुई सिध्दमन्त रहेका छन् : आदर्शवाद र भौतिकवाद । यस आलेखमा यिनै दुई विपरीत रहेका दार्शनिक सिध्दान्तकाबारेमा यो दर्शनको विषय भएकोले सरल भाषामा सर्वसाधारणले बुझ्न सक्ने गरी विश्लेषणात्मक आलेख लेख्ने प्रयत्न गरिएको छ । किनभने मान्छेले दर्शन जस्तो गहन र वैज्ञानिक विषयको गहिरो अध्ययन नगरिकन , यसलाई नबुझिकन देश दुनियाँ ( विश्व ब्रह्माण्ड ) का बारेमा बुन्ने , जान्ने र बदल्ने चाहनेहरुका निम्ति दर्शनको गहिरो अध्ययन , अध्यापन गर्न जरुरी छ । क्रान्तिकारी कम्युनिस्टहरूका निम्ति त दर्शनको गहिरो अध्ययन अत्यन्तै जरुरी छ यसलाई आत्मशातिकरण गरेर जीवन व्यवहारमा लागु गर्न उत्तिकै जरुरी मात्र होइन अनिवार्य विषय बन्न पुगेको छ ।
यहाँ प्रस्तुत गर्न खोजिएको विषय के हो भने दर्शनशास्त्रमा मूलतः दुई सिध्दान्त छन् : आदर्शवाद ( आध्यात्मवाद ) र भौतिकवाद।
( १) आदर्शवाद ( आध्यात्मवाद ) :
(१) चिन्तन , विचार , आत्मा , परमात्मा ,संवेदना , ईश्वर , जन्म , पुनर्जन्म , भाग्य , दूर्भाग्य , स्वर्ग , नर्क वा अरु कुनै अलौकिक ( काल्पनिक ) शक्तिलाई जगत वा सृष्टिको मुख्य कारण मान्दछन् ।
(२) वस्तु वा जगतलाई विचार , चेतना वा मान्छे ( हाम्रो ) मन भन्दा स्वतन्त्र अस्तित्व भएको कुरा स्वीकार गर्दैनन्
(३) विश्व ब्रह्माण्ड वा वस्तुलाई जान्न र बुझ्न सकिन्न भन्दछन् , ती आदर्शवादी हुन् । आदर्श अर्थात् विचारलाई पहिलो दर्जामा राखेकाले यस सिध्दान्तकोनामआदर्शवाद रहन गएको हो । यस विषयमा विभिन्न दार्शनिकहरुले आफ्नो तरिकाले तर्क प्रस्तुत गरेको पाइन्छ । भारतीय बेदान्त दर्शनले परब्रम्ह वा परमात्मालाई पहिलो बताउँछ । युनानी दार्शनिक प्लेटोले परम सौन्दर्यबाट संसार बनेको छ भनेका छन् । जर्मन दार्शनिक हेगेलले निरपेक्ष विचारबाट जगत बनेको बताएका छन् । अर्को दार्शनिक ह्युमले वस्तु वा संसारलाई जान्न , बुझ्न बुझिनेबारे शंका प्रकट गरेका छन् ।
(२) भौतिकवाद :
(१) सत्ता वा वस्तु , पदार्थ वा प्रकृतिलाई सम्पूर्ण ब्रह्माण्ड वा जगतको पहिलो कारण मान्दछन् र ईश्वर वा कुनै अलौंकिक शक्ति मान्दैन ।
(२) विचार , चेतना वा मान्छे ( हाम्रो ) मन भन्दा स्वतन्त्र र बाहिर वस्तु वा जगतको अस्तित्व मान्दछन् ।
(३) वस्तु वा जगतलाई जान्न , बुझ्न सकिन्छ भन्छन् , ती भौतिकवादी हुन् । पदार्थलाई पहिलो दर्जामा राखेकाले यस दर्शनको नाम भौतिकवाद रहन गएको हो ।
दार्शनिक फाँटमा प्रारम्भिक सांख्य दर्शनले प्रकृतिलाई प्रधान र पहिलो बताएको छ । चार्बाक दर्शनले ईश्वर मानेको छैन । पृथ्वी , जल , आगो , हावा जस्ता भौतिक पदार्थलाई जगतको पहिलो कारण बताएको छ ।
युनानमा हेरेक्लाइटसले आगो र डेमोक्राइटस आदिले परमाणुलाई पहिलो बताएका छन् । बेकन , चेर्निशेबस्की , फायरवाख आदि सबै भौतिकवादीहरुले पदार्थलाई पहिलो बताउँदै त्यसलाई मान्छेको मन भन्दा बाहिर बेग्लै अस्तित्व भएको र त्यसलाई जान्न , बुझ्न सकिने कुरा बताएका छन् ।
( क) (१)सत्ता , वस्तु , पदार्थ वा प्रकृतिलाई सम्पूर्ण ब्रह्माण्ड वा जगतको पहिलो कारण मान्दछन् र ईश्वर वा कुनै अलौकिक मान्दैन ।
(२). विचार , चेतना वा मान्छेको मन भन्दा बाहिर वस्तु वा जगतको अस्तित्व मान्दछन् ।
(३) वस्तु वा जगतलाई जान्न , बुझ्न सकिन्छ भन्दछन् , ती भौतिकवादी हुन् । पदार्थलाई पहिलो दर्जामा राखेकाले यस दर्शनको नाम भौतिकवाद रहन गएको हो ।
( ख) (१) सत्ता र चिन्तन , आत्मा र पदार्थ वा वस्तु र चेतना दुबैलाई पहिलो मान्दछन् ।
(२) केही भौतिकवादी र केही आदर्शवादी कुरा गरेर बीचको बाटो अप्नाउँछन् , द्वैतवादी वा समन्वयवादी हुन् । आदर्शवाद र भौतिकवाद दुबैथरी कुरा मान्ने भएकाले त्यो दर्शनलाई द्वैतवादी वा समन्वयवादी भनिन्छ ।
पछिल्लो समयको भारतीय सांख्य दर्शनले प्रकृति र वस्तु दुबैलाई र युनानमा अरस्तुले ईश्वर तथा पदार्थ दुबैलाए पहिलो बताएका छन् ।
आधुनिक जर्मन दार्शनिक काण्टले एकातिर पदार्थलाई मन वा विचार भन्दा बाहिर स्वतन्त्र भएको बताउँदै भौतिकवादको समर्थन गरेका छन् भने अर्कोतिर त्यही पदार्थलाई जान्न , बुझ्न सकिन्न भन्दै अज्ञेयवादी र।आदर्शवादी तर्क पनि गरेका छन् । कतिपय दार्शनिकहरु उक्त विवादमा तटस्थ र।अपक्षधर बन्दै आएका छन् ।
दार्शनिक फाँटमा संशोधनवादीहरुले पनि यही बाटो अप्नाउँदै आएका छन् ।शास्त्रीय संशोधनवादका सिध्दान्तकार बर्नस्टाइन हुन् । उनी दर्शनको क्षेत्रमा काण्टको पछि लागेका थिए ।उनलेे सत्ता र चिन्तनलाई एकैखालका बताएका थिए । त्यसपछिका संशोधनवादीहरुले जगतको आदिकरण भौतिकवाद र मानसिक दुबै हुने कुरा बताएका छन् र वस्तुदाई अज्ञेय वा जान्न , बुझ्न सकिन्न भनेका थिए ।
दर्शनशास्त्रको इतिहासमा आदर्शवादले शोषकवर्गको र भौतिकवादले शोषितवर्गको पक्ष लिदै आएका छन् । बीचका द्वैतवादी र समन्वयवादी दार्शनिकहरुले आफ्नो ऐतिहासिक सन्दर्भमा आदर्शवाद ( आध्यात्मवाद ) तुलनामा केही प्,गतिशील खेले तापनि ती पनि मूलतः आदर्शवादकै श्रेणीमा पर्दछन् ।। यसै गरी जति घुमाउरो कुरा गरे पनि संशोधनवादीहरु पनि आदर्शवादभित्रै पर्दछन् । आदर्शवाद र भौतिकवादबाहेक बीचका सिध्दान्तको खास अर्थ छैन ।
हामीले यसको पनि अध्ययन गर्नु पर्दछ कि दर्शनशास्त्रको इतिहासमा पृथ्वी , जल , तेज , परमाणु वा कुनै भौतिक वस्तुलाई प्राथमिकता दिने स्वतस्फूर्त भौतिकवाद देखा परेको थियो ।
सामन्ती युगको अन्त्यमा पदार्थलाई प्राथमिकता दिदै यान्त्रिक भौतिकवाद जन्मियो । यसले पदार्थलाई त गतिशील मान्यो तर त्यसलाई यान्त्रिक रुपले लिएको थियोे र त्यसको संघर्षशील,एवं परिवर्तनशील चरित्रलाई ठम्याउन सकेन र त्यो भौतिकवादी अधिभूतवादको शिकार भएको थियोे ।
पुँजीवादी युगमा सर्वहारा आन्दोलनको जन्म र विज्ञानको विकासको प्रगतिको कारण द्वन्द्वात्मक भौतिकवादको जन्म भयो र यही नै भौतिकवादको अन्य रुप भन्दा बेग्लै र क्रान्तिकारी दर्शन बन्न पुग्यो ।
द्वन्द्वात्मक भौतिकवादले सबै आदर्शवादी विचारहरुको विरोध गरी गतिशील पदार्थलाई प्राथमिक दर्जा राख्न पुगेको छ । यसको दृष्टिमन गतिको अभावमा पदार्थ र पदार्थको अभावमा गतिको कल्पना गर्न सकिदैन । गतिको अर्को नाम अन्तर्विरध हो । जब कुनै वस्तुलाई त्यसको गति वा अन्तर्विरोधबाट अल्ग्याइन्छ , त्यसवस्तुको मृत्यु हुन्छ । गति र।पदार्थ अनादि एवं अनन्त छन् । यी दुबै न जन्मन्छन् न मर्दछन् । अपितु, अनादि र अनन्त दिशा र कालको प्रवाहमा लगातार विकसित र परिवर्तित भइरहन्छन् ।
हामीले जुन चीजलाई ज्ञानीन्द्रीय मार्फत जान्न , बुझ्न सक्दछौं , जुन चिजको लम्बाई मोटाई , चौडाई वा भार ( वजन ) हुन्छ र जुन चीजको अस्तित्व मान्छेको चेतना बाहिर स्वतन्त्ररुपले विद्यमान छ त्यही नै पदार्थ हो ।
आकाशीय पिण्डका गुरुत्वकर्षणसम्बन्धि यान्त्रिक गति , ताप , प्रकाश वा विद्युत चुम्बकीय तरंगहरु , रासायनिक संयोग र वियोग विभिन्न प्रणाली र वनस्पतिमा विद्यमान सेलका जीवन सम्बन्धि पारमाणिक गति सामाजिक व्यवस्था एवं हरेक वस्तुमा पाइने अन्तर्विरोधहरु पदार्थका गतिका विभिन्न रुप हुन् । पदार्थ जड होइन , गतिशील छ भन्ने कुरा परााणुको अध्ययनबाट स्पष्ट हुन्छ । इलेक्ट्रोन , प्रोटोन र न्यूट्रोनबाट परमाणु बन्दछ । यी तत्वहरु गतिशील छन् र पदार्थ स्वयं गतिशील हुने भएकोले त्यसलाई गति प्रदान गर्ने कुनै अलौकिक तत्व वा ईश्वरको आवश्यकता हुँदैन र चेतना संसारको आदिकरण होइन ।
ज्ञान – दर्शनको क्षेत्रमा आदर्शवादीहरुले वस्तुजगतलाई इन्कार गरी परमचेतनाबाट प्राप्त विशुद्ध विवेक , वेद , धर्मशास्त्र आदिमा प्रयुक्त ईश्वरीय उपदेश वा दिव्य पुरुषका वाणीहरुलाई सच्चा ज्ञान मान्दछन् । उनीहरूले व्यवहारलाई तिलाञ्जली दिन पुग्दछन् र त्यसप्रकारको अलौकिक वा विशुद्ध विवेकमा आधारित ज्ञानलाई पूर्ण ज्ञान ठान्दछन् र ईश्वर प्राप्ति वा परम तत्वको साक्षात्कारलाई नै ज्ञानको सिमा बताउँदछन्।
यसको विपरीत द्वन्द्वात्मक भौतिकवादले ज्ञानेन्द्रीय मार्फत् प्राप्त हुने वस्तुगत तथ्यमा आधारित ज्ञानलाई नै प्रमाणित ठहर्याउँछन् । उनीहरूले सत्य र असत्यलाई छुट्याउने कसीको रुपमा व्यवहारलाई लिन्छन् ।व्यवहारमा ईश्वर , परमचेतना वा अन्य अलौकिक शक्तिको अस्तित्व नहुने भएकोले उनीहरूले तमाम अवस्तुवादी तथ्यहीन कुराको विरोध गर्दछन् । उनीहरू प्रकृति र वस्तुगत संसार स्वयं असिमित र लगातार विकसित एवं परिवर्तित हुने भएकोले ज्ञानको क्षेत्रलाई पनि अपूर्ण र असिमित बताउँछन् । उनीहरूले प्राप्त ज्ञानलई सिमित वा सापेक्षता र निरपेक्षता दुबैमा जोड दिन्छन् । छोटकरीमा भन्नुपर्दा सिध्दान्त र व्यवहारबीचको द्वन्द्वात्मक एकता नै मार्क्सवादी ज्ञानसिध्दान्तको सार हो । तदनुसार उत्पादनका लागि संघर्ष , वैज्ञानिक प्रयोग एवं वर्गसंघर्षका अनेकौं व्यवहारिक अनुभवका क्रममा सिध्दान्त बन्दछ र त्यसले फेरि व्यवहार कै सेवा गर्दछ । पदार्थबाट चेतना र चेतनाबाट फेरि पदार्थ भनेको यही हो । यस अर्थमा मार्क्सवाद सचेत ढंगले दुनियाँ बदल्नका लागि प्रयुक्त हुने ज्ञान हो ।
आचारदर्शनको क्षेत्रमा आदर्शवाद धर्म , कर्म , ईश्वर , व्यक्तिपूजा , यौन उच्छृङ्खलता , दब्बुपना , श्रमप्रति घृणा , जालझेल , शोषण ,निश्क्रियता , निरासा , पलायन , व्यक्तिगत स्वार्थ आदि मूल्यमान्यताहरुमा आधारित हुन्छ । आदर्शवादीहरुले त्यसप्रकारका मूल्यमान्यताहरुलाई ईश्वरीय आदेश , स्थायी , परिवर्तनहीन र वर्ग एवं समाज निरपेक्ष मान्दछन् ।
यसको ठिक उल्टो द्वन्द्वात्मक भौतिकवादीहरुले उक्त सामन्ती पुँजीवादी नैतिक मूल्यमान्यताहरुको विरोध गर्दै नैतिकतालाई परिवर्तनशील तथा वर्ग एवं समय सापेक्ष मान्दछन् । उनीहरूले यसै धरतीलाई सम्पन्न बनाउने श्रम र श्रमिकहरुको कदर गर्ने ,वर्गीय इमानदारी , सामुहिकता र अनुशासनतर्फ ध्यान दिने र सर्वहारा वर्गका हित र उद्श्ये प्रति निष्ठावान रही त्यसको जगेर्ना गर्ने कुरामा जोड दिन्छन् । उनीहरू जीवन प्रति आशावादी भई अन्याय र शोषणमा आधारित समाज व्यवस्थाको ध्वंस शोषणरविहिन समाजको सिर्जनातर्फ।, सचेत , संगठित र क्रियाशील हुन्छन् ।
समाजदर्शनको क्षेत्रमा आदर्शवादीहरुले इतिहासको निर्माणमा जनताको भूमिकालाई लत्याई ईश्वरीय शक्ति , कुनै महाराजा वा वीर पुरुषहरुको भूमिकालाई प्रधानता दिन्छन् । उनीहरूले शोषण , व्यक्तिगत लाभ र अन्यायमा आधारित प्रतिक्रियावादी व्यवस्थालाई स्थायी सम्झी तिनैलाई नै टिकाउने र जनतालाई सबै अधिकारबाट बञ्चित गरी वर्गसमन्वयको राग अलाप्ने गर्दछन् ।
यसको विपरीत कार्ल मार्क्स ( २८१ – १८८३) र फ्रेडरिक एंषेल्स ( १८२० – १८९५ ) ले द्वन्द्वात्मक भौतिकवादलाई इतिहासमा प्रयोग गरी इतिहासको भौतिकवादी धारणा र अतिरिक्त मूल्यको सिध्दान्तको खोज गर्नुभयो। यस धारणा अनुसार सामाजिक सत्ता सामाजिक चेतनाको आधार हो र समस्त सामाजिक क्रान्ति र परिवर्तनको मूल कारण त्यस युगको दर्शन होइन , अर्थ व्यवस्थामा पाइन्छ , इतिहास निर्माणमा कुनै अलौकिक शक्ति वा कथित वीर पुरुषहरुको होइन , श्रमशक्ति वा जनताको भूमिका प्रधान हुन्छ र वर्गसकन्ह कारण शोषकवर्गले शोषितवर्गलाई दवाउने। साधनको रुपमा राज्यसत्ताको जन्म भएको हो।
पुँजीवादी समाजमा विद्यमान सामाजिक उत्पादन र व्यक्तिगत वितरण पध्दति तथा पुँजीपति र सर्वहारा वर्गबीचको संघर्षबाट अनिवार्यरुपले नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद जन्मन्छ । व्यक्तिगत सम्पत्ति र अतिरिक्त मूल्यको शोषण नै वर्गसमाजका आधारशिला हुन् र ती सबै कुराका विरुद्ध सर्वहारावर्गले क्रान्ति गर्दछ र वर्ग एवं राज्यसत्ताको जन्म , वर्गसंघर्ष , इतिहासमा बल प्रयोगको भूमिका , सर्वहारा अधिनायकत्व एवं त्यस अन्तर्गत क्रान्तिको निरन्तरताबारे मार्ल मार्क्स , फ्रेडरिक एंगेल्स , भी.आई. लेनिन , माओ त्सेतुङले जुन कुरा बताउनु भएको छ , ती समाजदर्शनका महान् उपलब्धि हुन् । यी उपलब्धिहरुको रक्षा र विकास गर्ने र वैज्ञानिक ढंगले कार्यन्वयन गर्ने ऐतिहासिक कार्यभार आज माक्र्सवादी – लेनिनवादी – माओवादी कम्युनिस्ट क्रान्तिकारी कम्युनिस्टहरूको काँधमा आएको छ
निचोड :
यस आलेखमा दार्शनिक फाँटमा दर्शनका दुई सिध्दान्त आदर्शवाद र भौतिकवादका समग्र पक्षमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ। र ,दर्शन अत्यन्तै गहन तथा जटिल विषय भएकोले दर्शनका बारेमा अर्थात् जीवन र जगतको बारेमा जान्न चाहने ,बुझ्न चाहने र बदल्न चाहने र दर्शनको फाँटका क्षेत्रमा अध्ययन , अध्यापन गर्न चाहने सर्वसाधारण समेतलाई सजिलो होस् भनेर सरल भाषा र शब्दावली तथा पदावली राख्ने अधिकतम प्रयत्न गरिएको छ ।
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।) ।
