रास्वपाको पपुलिस्ट नाराले जनतालाई भ्रमित बनायो: बादल थापा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले रास्वपालाई पपुलिस्ट पार्टीको संज्ञा दिँदै जनतालाई भ्रम दिएर चुनावी सफलता हासिल गरेको आरोप लगाएका छन् ।
एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि र सुशासन जस्ता लोकप्रिय नारा दिएर जनतालाई भ्रमित बनाएको बताए ।
रास्वपा एउटा पपुलिस्ट पार्टी हो । पपुलर नारा र अल्गोरिदमको माध्यमबाट जनतालाई विघटित गर्यो,उनले भने,क्रान्तिकारी र गणतन्त्रका संवाहकहरूलाई खलनायक र हत्यारा बनाइयो भने जनताको लागि केही नगरेकालाई नायक बनाइदियो ।
उनले रास्वपाले एआई र अल्गोरिदमको राम्रो प्रयोग गरेको पनि स्वीकार गरे । तर यो सफलता अस्थायी भएको जिकिर गर्दै थापाले भने, “हाम्रा कमजोरी टेकेर उनीहरू सफल भए पनि यो स्थायी होइन । पार्टी पुनर्गठन गरी नयाँ नीतिमा अगाडि बढ्नुपर्छ ।”
थापाले रास्वपा सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए । सुकुम्वासीमाथि दमन, लोकतान्त्रिक संस्था र गणतन्त्रको धज्जी उडाएको उनको भनाइ छ । प्रधानमन्त्रीले सत्ता टिकाउन नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएको र रवि लामिछानेको भारत भ्रमणमा प्रधानमन्त्री–राष्ट्रपतिसरह भव्य स्वागत भएको घटनालाई लिएर पनि उनले प्रश्न उठाएका छन् ।
