गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालन गर्न सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् ।अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरूले अर्बौं रुपैयाँको लगानीमा निर्माण भएका यी विमानस्थलको उपयोग बढाउन ठोस कार्ययोजना बनाएर सम्बन्धित निकायहरूलाई तुरुन्त लाग्नुपर्ने सुझाव दिएका हुन् ।

समितिका सदस्यहरूले दुवै विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसकेको कारणबारे छानबिन गर्नुपर्ने माग पनि गरेका छन् । समिति सदस्य जगदीश खरेल, डा.अर्जुन कार्की, गणेश कार्की, गणेशबहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेनुका काउचा, राम लामा, प्रशान्त उप्रेती र अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालन नहुँदा भएको ठूलो लगानीको दुरुपयोगप्रति चिन्ता व्यक्त गरेका थिए ।

समिति सभापति सुम्निमा उदासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पनि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने बताइन् ।