कांग्रेस विवाद मिलाउन तीनै पक्षको टोली फेरि वार्तामा
काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधानका लागि तीनै पक्षको टोली दोस्रो चरणको वार्ता बसेका छन्। संस्थापन, नेता डा.शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच दिउँसो ३ बजेबाट दोस्रो चरणको वार्ता सुरु भएको हो। मङ्गलवार बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका ८ जना नेताबीच संवाद भएको थियो।
छलफलमा सभापति शेरबहादुर देउवा पक्षीय नेता रमेश लेखक र बालकृष्ण खाण, नेता कोइराला पक्षीय सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय पक्षीय नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी थिए। पहिलो चरणको संवाद सकारात्मक भएको नेताहरूको भनाइ थियो।
त्रिपक्षीय वार्ताबीच सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ भने भृकुटीमण्डमा विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढिरहेको छ। पार्टी विवाद समाधानको सहमति भएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइराला विशेष महाधिवेशनस्थत भृकुटीमण्ड पुगेर सम्बोधन गर्ने विषयमा छलफल भइरहेको छ।
