गगन कांग्रेसको सभापति बन्दा महेश बस्नेतको आक्रोश,वैदेशिक हस्तक्षेपको नाङ्गो नाच
काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिएको निर्णयप्रति नेकपा एमालेका सचिव महेश बस्नेतले तीव्र असन्तुष्टि जनाएका छन् । उनले उक्त निर्णयलाई लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहारको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप देखिएको आरोप लगाएका छन्। उनका अनुसार आयोगको निर्णय अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक छ।
बस्नेतले आफ्नो स्टाटसमा लेखेका छन्,नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो। निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु गम्भीर चिन्ताको विषय हो।
यस्तो अवस्थामा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भएर वैकल्पिक तथा पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य रहेको उनको भनाइ छ।
