देउवाले गगन र विश्वलाई भेटेका छैनन् :सचिवालय

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेको भनेर गरिएको प्रचार गलत भएको देउवाको सचिवालयले जनाएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गरेर विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति चयन गरेयता देउवा, गगन र विश्वबीच भेटघाट नभएको जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसँग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही सञ्चारमाध्यमहरूमा समाचार आएको देखिएको तर हालसालै उहाँहरूसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराइन्छ ।

गएको पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । उक्त समितिलाई निवार्चन आयोगले गत शुक्रबार आधिकारिक पार्टीको मान्यता दिइसकेको छ । तर पनि देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै अदालत जाने निर्णय गरेको छ।