गगन सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।
गत पुस २७–३० मा भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो।
शुक्रबार सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले घोषणापत्र लेखन र चुनावी परिचालनलगायत विषयमा निर्णय गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।
साथै बैठकले निर्वाचन तयारीका लागि उपसमिति बनाउने र सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने पनि बुझिएको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्दै दायर गरेको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरको थियो । त्यसपछि सभापति थापा सानेपाबाटै पार्टी सञ्चालनको तयारीमा जुटेका हुन्।
