हराएका व्यक्ति र बेवारिसे शवको विवरण अब क्यूआर स्क्यानबाटै हेर्न सकिने
काठमाडौं। नेपाल प्रहरीले विभिन्न प्रहरी कार्यालयहरूमा प्राप्त भएका हराएका तथा फेला परेका मानिसहरू र पहिचान नखुलेका तथा बेवारिसे शवहरूको विवरण अनलाइनमार्फत नै हेर्न सकिने व्यवस्था मिलाएको छ।
सर्वसाधारणको सहजता र सूचनामा पहुँच पुर्याउने उद्देश्यले प्रहरीले यो डिजिटल प्रणाली कार्यान्वयनमा ल्याएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार अब जोसुकैले पनि घरैमा बसेर हराएका आफन्तको खोजी वा फेला परेका अज्ञात व्यक्ति तथा शवहरूको बारेमा विस्तृत जानकारी लिन सक्नेछन्। यसअघि यस्ता विवरणहरूका लागि सम्बन्धित प्रहरी कार्यालयमै पुग्नुपर्ने वा सम्पर्क गर्नुपर्ने बाध्यता थियो।
प्रहरीले विवरणहरूलाई व्यवस्थित बनाउन तीनवटा छुट्टाछुट्टै वर्गमा वर्गीकरण गरी अनलाइन पोर्टलमा राखेको छ।
सूचनालाई अझ प्रविधिमैत्री बनाउन प्रहरीले प्रत्येक विधाका लागि छुट्टाछुट्टै क्यूआर कोड पनि जारी गरेको छ। सर्वसाधारणले आफ्नो मोबाइलबाट ती कोड स्क्यान गरी सिधै सम्बन्धित विवरण भएको वेबपेजमा पुग्न सक्नेछन्।

