निर्वाचनको शान्तिसुरक्षा बिथोल्ने जोकोहीमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति र सुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्।
बिहीबार निर्वाचन आयोगमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग छलफलमा उनले सरकार भयरहित निर्वाचन वातावरण निर्माणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।
अर्यालले मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचन कर्मचारी र सुरक्षाकर्मीसमेतको सुरक्षा सुनिश्चित गर्न गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल गर्दै सुरक्षा योजना बनाएर काम गरिरहेको बताए ।
उक्त छलफलमा गृहमन्त्रीले आपराधिक तथा निर्वाचनविरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति लागू गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएका छन् ।
