सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० खुला गरेको छ । कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्कासन गरेको छ।

कम्पनीका अनुसार कुल निष्कासित शेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ ।

यो आईपीओ छिटोमा माघ २१ गते बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएमा ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि कम्पनीले मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोहीअनुसार पहिलो चरणमा गत पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरिएको थियो। पहिलो चरणको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।