अछाममा भीम रावलको विरासत जोगिएला ?
काठमाडौं । अछाम क्षेत्र नं. १ को चुनावी मैदान यसपटक निकै रोचक र पेचिलो बनेको छ। वि.सं.२०४७ सालदेखि नै राष्ट्रिय राजनीतिमा आफ्नो दह्रो उपस्थिति जनाउँदै आएका डा.भीम रावल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुनः चुनावी मैदानमा उत्रिएका छन्।
संसदीय राजनीतिका पुराना खेलाडी रावलका लागि यो निर्वाचन केवल पद प्राप्तिको लडाइँ मात्र होइन, बरु उनको राजनीतिक पुनर्जीवन र जनमतको कठिन परीक्षा पनि हो।
२०५१ सालयताका निर्वाचनमा एकपटक उम्मेदवार नभएका र एकपटक मात्र पराजय भोगेका रावलले कुल पाँचपटक अछामबाट जितको स्वाद चाखिसकेका छन्। तर, यसपटक परिस्थिति फेरिएको छस न उनीसँग उनको पुरानो घर नेकपा एमाले छ, न त परिचित ‘सूर्य’ चिह्न नै।
उनको यो यात्राको पृष्ठभूमि निकै उतारचढावपूर्ण छ। २०३० सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका रावल एमालेको स्थापनाकालदेखिकै प्रभावशाली नेता थिए । तर, नेकपाको विभाजन र एमालेभित्रको आन्तरिक द्वन्द्वका क्रममा अध्यक्ष केपी ओलीसँगको वैचारिक टक्करले उनलाई पार्टीको किनारामा पु¥यायो ।
चितवन महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग पराजित भएपछि पार्टीभित्र उपेक्षित बनेका रावलले लगातार नेतृत्वको आलोचना गरिरहे । अन्ततः २०८० पुस १० गते उनलाई एमालेबाट निष्कासित गरियो।
केही समय ‘मातृभूमि जागरण अभियान’ मार्फत सक्रिय रहे पनि त्यो खासै प्रभावकारी हुन सकेको थिएन। तर, मुलुकमा ‘जेनजी’ आन्दोलनको प्रभाव र माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीचको एकीकरणबाट बनेको नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०’ ले रावललाई फेरि राजनीतिक मूलधारमा फर्काउने बाटो खोलिदियो।
अहिले अछामको भूगोलमा एउटा नयाँ दृश्य देख्न सकिन्छ। सधैँ ‘सूर्य’ मा भोट माग्ने रावल यतिबेला ‘तारा’ चिह्न अंकित झण्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन्।
साँफे,मेल्लेख, बाब्ला र रामारोशनका बस्तीहरूमा पुग्दा उनले आफूले विगतमा गरेका काम र अब गर्नुपर्ने विकासका योजनाहरू सुनाइरहेका छन्। उनले आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जालमार्फत पनि उत्तिकै सक्रियताका साथ सार्वजनिक गरिरहेका छन्।
उनीसँगै यस क्षेत्रमा ७ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। नेकपा एमालेबाट दीपक साउँद मैदानमा छन्,जो पूर्व माओवादी नेता हुन्। एमालेले सुरुमा झपट बोहरालाई उठाउने तयारी गरे पनि अन्तिममा जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेर आएका साउँदलाई टिकट दियो। साउँदको पकड माओवादीको गढ मानिने रामारोशन क्षेत्रमा राम्रो मानिन्छ।
त्यस्तै, नेपाली कांग्रेसबाट भरतकुमार स्वार चुनावी मैदानमा छन्। पूर्व जिल्ला सभापति रहेका स्वार अछामका एक दिग्गज र रैथाने नेता हुन्, जसको जनतासँग सिधा र लामो सम्बन्ध छ। रोचक कुरा त के छ भने,२०७४ को निर्वाचनमा एमालेमा छँदा रावलले यिनै स्वारलाई पराजित गरेका थिए।
तर यसपटक रावलसँग एमालेको विशाल संगठन छैन। यो क्षेत्रमा विगत २६ वर्षदेखि कांग्रेसले जित्न सकेको छैन,त्यसैले यसपटक रावल र साउँदबीच कम्युनिस्ट मत विभाजित हुँदा त्यसको फाइदा आफूलाई पुग्नेमा कांग्रेस पक्ष ढुक्क देखिन्छ।
यी तीन मुख्य पात्रका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल, नेमकिपाका सुरेन्द्र शाही, राप्रपाका लोकेन्द्र शाह, विप्लव नेतृत्वको नेकपाका लोकेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवर पनि प्रतिस्पर्धालाई बहुआयामिक बनाउन लागिपरेका छन्।
निर्वाचनको अंकगणितलाई केलाउँदा २०७९ को स्थानीय र आम निर्वाचनको मत परिणाम निकै अर्थपूर्ण देखिन्छ । स्थानीय निर्वाचनमा अछाम–१ का ५ पालिकामध्ये कांग्रेसले ४ वटामा प्रमुख जितेर आफ्नो शक्ति प्रदर्शन गरेको थियो भने एमालेले एउटा पनि प्रमुख जित्न सकेन। वडागत मतका आधारमा पनि कांग्रेस अगाडि छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट शेरबहादुर कुँवरले १९, ५३४ मत ल्याएर विजयी हुँदा एमालेका झपट बोहराले १५,०४५ मत प्राप्त गरेका थिए।
अहिले रावल उम्मेदवार रहेको दलको तत्कालीन समानुपातिक मत जोड्दा करिब १० हजारको हाराहारीमा देखिन्छ, जबकि कांग्रेस र एमालेको व्यक्तिगत मत करिब १४–१४ हजारको हाराहारीमा छ।
यसपटक रास्वपाको बढ्दो प्रभाव र वरिष्ठ नेता बालेन्द्र शाहको त्यस क्षेत्रमा भएको भ्रमणले युवा मतदाताको मनोविज्ञानमा कस्तो असर पार्छ भन्ने कुरा पनि चासोको विषय बनेको छ।
लामो समय एमालेको केन्द्रमा रहेका रावलले पार्टी छाड्दा कति कार्यकर्ता र कति जनमत आफूसँगै तान्न सफल भए भन्ने कुराको वास्तविक परीक्षण यसै फागुन २१ ले गर्नेछ। के रावलले आफ्नो व्यक्तिगत विरासतलाई नयाँ चिह्नमार्फत जोगाउन सक्लान् ? वा अछामको राजनीतिमा नयाँ शक्ति र पुराना विपक्षीले बाजी मार्लान्? यो प्रश्नको उत्तर भने अछामी जनताको हातमा छ।
