ओलीकै कारण एमालेमा खैलाबैला

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पित्तथैलीको पत्थरको अप्रेसनपछि पार्टीको कुनै पनि कार्यक्रममा सहभागी भएका छैनन् । स्रोतका अनुसार, केही समय उनलाई बेडरेस्टमा बस्न चिकित्सकहरूले सल्लाह दिएका छन् । परिवार निकट स्रोतका अनुसार, अप्रेसनपछि भित्री ‘इनफेक्सन’ भएका कारणले पनि ओलीलाई बेडरेस्ट गर्नुपर्ने अवस्था छ।

ढल्कँदै गएको उमेर दुई दुई पटक मिर्गौला प्रत्यारोपण, स्वासप्रश्वाससम्बन्धी समस्याका कारणले पनि ओली सक्रिय रुपमा काम गर्न सक्ने अवस्थामा छैनन् । तर, बढ्दो मनोबलका कारण उनमा कुनै रोग छ जस्तो देखिन्न।

एमालेको तीनपटक अध्यक्ष, चारपटक प्रधानमन्त्री बनेका ओलीले स्वेच्छाले पार्टीबाट अवकाश लिएर सहज जीवनयापन गर्नु उनको लागि उत्तम विकल्प हो । त्यसैले उनी आफैँले नवौं महाधिवेशनमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने र ७० वर्ष उमेर कटेपछि केन्द्रीय कमिटीबाट पनि अवकाश लिनुपर्ने कुरा विधानमै उल्लेख गरे । तर, उनको चाहनाले मात्रै त्यो किमार्थ लागू हुने अवस्था थिएन । उनका कोटरीमा रमाउन चाहनेहरूले उनलाई पटकपटक उचाल्दै थेचार्दैै आए पनि उनको होस् नखुलेको कारण जेनजी आन्दोलनको शिकार बन्नुपर्यो।

उनका मुख्य सल्लाहकार विष्णु रिमालको कुरा नसुनेको भए ओलीमाथि यति ठूलो विपद् आइलाग्ने थिएन । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगाउनुको पछाडि रिमालको स्वार्थ समूहलाई रिझाउनु थियो, जुन समूहसँग उनको छोराको व्यावसायिक सम्बन्ध रहेको बताइन्छ ।

जे हुनु थियो बेलैमा बुद्धि पुर्याउन नसक्दा दुई–दुई पटक दुई तिहाइको प्रधानमन्त्री बनेका ओली अहिले घर न घाटका भएका छन् । उनको कारण एमाले मात्रै सकिएको छैन, सिंगो कम्युनिष्ट आन्दोलन पनि पश्चिम बंगालको यात्रामा ओरालो लागेको छ । तर, पनि ओलीमा कुनै पश्चाताप छैन । उनी निकटकै ‘दास’हरूले राजीनामा गर्नुपर्यो भन्दा ओलीले महासचिव पद बढी भयो कि क्या हो भनेर हकार्न थालेका छन् ।

जननेता मदन भण्डारीले भन्थे–‘लातका भूत बातले मान्दैन’ अहिले एमालेमा ओलीका लागि त्यस्तै अवस्था आएको छ । एमालेको सिंगो नेतृत्व ओली हटाउन लागि परेको छ ।विशेष महाधिवेशनको माग बढेको छ । ओली पछिको नेतृत्व कसले गर्ने भन्ने बहस सुरु भएको छ ।

यस्तो संकटको घडीमा रामबहादुर थापा बादल जस्ता अवसरवादी नेताको संगत छाडेर ईश्वर पोखरेल जस्ताको संगत गरे बुद्धिमानी हुने थियो । तर, दुर्भाग्य मुर्खदेखि दैब डराउँछन् भन्ने अवस्था छ ।

एमाले कुनै व्यक्तिको पेवा नभएकोले ढिलोचाँडो अब ओलीको बहिर्गमनको विकल्प छैन। त्यसमाथि १९ जना विद्यार्थी हत्याको आरोप उनीमाथि छ। सरकारले उनीमाथि मुद्दा चलाउन थप प्रमाणहरु जुटाउँदैछन्।

यस्तो संकटपूर्ण अवस्थामा ओलीले राजीनामा दिए, नयाँ नेतृत्वमा एमाले अगाडि बढ्ने आम कार्यकर्ताहरुको विश्वास छ । ओली निकट स्रोतका अनुसार दबाबसामु नझुक्ने उनको स्वभाव भएकोले बाहिर हल्ला गर्नुभन्दा भित्रभित्र सहमतिको प्रयास गरे ओली अन्ततः राजीनामाका लागि तयार हुनेछन्।