मार्क्सको २०८औँ जन्मजयन्तीः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा ऐक्यबद्धता व्यक्त
काठमाडौं। विश्व सर्वहारा वर्गका महान् नेता तथा कार्ल मार्क्सको २०८औँ जन्मजयन्ती आज विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सन् १८१८ मे ५ मा जर्मनीको ऐतिहासिक शहर ट्रियरमा जन्मिएका मार्क्सले मार्क्सवादको प्रवर्तन गर्दै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्त विकास गरेका थिए।
यस अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक प्रेस वक्तव्य जारी गर्दै मार्क्सप्रति ऐक्यबद्धता र सम्मान व्यक्त गरेका छन्। केन्द्रले विश्वभरका श्रमजीवी तथा सर्वहारा वर्गले उनको जन्मजयन्ती उत्साहपूर्वक मनाइरहेको उल्लेख गरेको छ।
वक्तव्यअनुसार, कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा सन् १८४८ फेब्रुअरी २१ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रमार्फत् मार्क्सवादको औपचारिक प्रतिपादन गरिएको थियो, जसले विश्व राजनीतिक तथा आर्थिक चिन्तनमा गहिरो प्रभाव पारेको बताइएको छ।
त्यसपश्चात् पेरिस कम्युनदेखि रुसी अक्टोबर क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्तिलगायत विभिन्न समाजवादी तथा जनवादी क्रान्तिहरू सम्पन्न भएको उल्लेख गरिएको छ। भियतनाम, उत्तर कोरिया, कम्बोडिया र क्युबा जस्ता देशहरूमा समेत समाजवादी शासन स्थापना भएको केन्द्रको भनाइ छ।
यद्यपि पछिल्लो समय रुस र चीनलगायतका देशहरूमा समाजवादी व्यवस्थामा आएको परिवर्तनपछि विश्व समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको विश्लेषण गरिएको छ। तर मार्क्सवादलाई गतिशील र वैज्ञानिक सिद्धान्तको रूपमा व्याख्या गर्दै केन्द्रले यसको सान्दर्भिकता अझै बढेको ठहर गरेको छ।
केन्द्रले आजको साम्राज्यवादको युगमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई विश्व सर्वहारा वर्गको मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गर्दै महान् कार्ल मार्क्सप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।
प्रेस वक्तव्य
