राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी अध्यादेश जारी गरेका छन्।

अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मङ्गलवार अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपतिले अध्यादेशमा राखिएको निर्णय प्रक्रियासम्बन्धी व्यवस्थामा सरोकार राख्दै फिर्ता पठाएका थिए। प्रस्तावित व्यवस्थाअनुसार संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र निर्णय उपस्थित सदस्यको बहुमतबाट गर्न सकिने व्यवस्था गरिएको छ।

यस व्यवस्थाले ६ सदस्यीय परिषद्‌मा ३ जनाले मात्र निर्णय गर्न सक्ने अवस्था सिर्जना हुने भएकाले ‘कुल सदस्य सङ्ख्याको बहुमत’ को मर्म कमजोर हुने राष्ट्रपतिको चिन्ता थियो ।

उनले निर्णय गर्दा उपस्थित सङ्ख्याको होइन, कुल सदस्य सङ्ख्याको बहुमतलाई आधार बनाउनुपर्ने धारणा राख्दै अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले त्यसैलाई दोहोर्‍याएर पठाएपछि राष्ट्रपति अध्यादेश जारी गर्न बाध्य भएका हुन्।