पूर्वमन्त्री जितेन्द्र देवले छाडे एमाले
काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढङ्गले सञ्चालन गर्ने विचार नीति र व्यवहारसँग असहमत भएर एमाले त्यागेको उल्लेख छ ।
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । तर पछि एमाले छाडेर उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भएका थिए ।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए । उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका थिए । २० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा एमालेमै फर्किएका थिए ।
