मधेशमा उपेन्द्र, सीके र राजेन्द्रको अग्निपरीक्षा
काठमाडौं । मधेश केन्द्रित राजनीतिमा यसपटक एउटा ठूलो ध्रुवीकरण देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुरको लोसपाबीचको एकतासँगै अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीका दलहरूले साझा चुनावी चिह्न ‘जाँतो’ (चकिया) प्रयोग गर्ने सहमति गरेपछि मधेशमा दलहरूको संख्यात्मक उपस्थिति निकै पातलिएको छ ।
यसैबीच, अशोक राई चुनावी प्रतिस्पर्धामा छैनन् र रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । यसले अब मधेशको राजनीतिक मैदानमा मुख्य तीन पात्र– उपेन्द्र यादव, डा। सीके राउत र राजेन्द्र महतोको मात्र वर्चस्व देखिएको छ । अर्कोतर्फ, वृषेशचन्द्र लाल र हृदयेश त्रिपाठी जस्ता नेताका दलहरू पनि अन्ततः जसपा नेपालमै समाहित भएका छन् ।
राजनीतिक परिदृश्यमा अर्को हलचल डा.सीके राउतको जनमत पार्टीमा आएको विभाजनले ल्याएको छ । सो पार्टी फुटेर अहिले ५ वटा फरक समूह बनेका छन् । जनमत पार्टीबाटै सत्ताको बागडोर सम्हालेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह, पूर्वप्रवक्ता शरदसिंह यादव, पूर्वउपाध्यक्ष दीपककुमार साह र रियाज अहमद शेषले छुट्टाछुट्टै पार्टी गठन गरेका छन् ।
रोचक त के छ भने हिजोका सहयात्री सिंह र यादवले नै अहिले सप्तरी(२ मा आफ्नै पूर्वअध्यक्ष राउतलाई चुनौती दिइरहेका छन् । यता उपेन्द्र यादवबाट बाहिरिएका अशोक यादव पनि जनता लोकतान्त्रिक पार्टीमार्फत कपिलवस्तु–३ बाट प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन आयोगमा धेरै मधेशी दल दर्ता भए पनि कतिपय शीर्ष नेताहरूले अस्तित्व जोगाउन अन्य स्थापित दलको सहारा लिएका छन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा कांग्रेसबाट, सर्वोदय पार्टीका अध्यक्ष दीपककुमार साह रास्वपाबाट र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी जसपा नेपालको चिह्नबाट चुनाव लड्दैछन् । यसले मधेशी राजनीतिमा बदलिँदो शक्तिको सन्तुलनलाई संकेत गर्छ । यस्तै, किशोरकुमार विश्वास पनि समावेशी–समाजवादी पार्टीबाट चुनावी मैदानमा छन् ।
निर्वाचन क्षेत्र फेरिरहने उपेन्द्र यादव यसपटक सप्तरी–३ बाट आफ्नो भाग्य परीक्षण गर्दैछन् । मधेश आन्दोलनपछि संविधानसभाका दुवै निर्वाचन उनले सुनसरी–५ र मोरङ–५ बाट लडेका थिए । पहिलो संविधनसभामा दुवै निर्वाचन क्षेत्रबाट जितेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने मोरङ–५ बाट पराजित भए, सुनसरी–५ बाट निर्वाचित भए ।
२०७४ को आम निर्वाचनमा सप्तरी–२ बाट जितेका उपेन्द्र, त्यहीँ २०७९ मा डा। सीके राउतसँग हारे । त्यसपछि २०८० को उपनिर्वाचनमा बारा–२ बाट जिते । बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि यो निर्वाचन क्षेत्र रिक्त भएको थियो । तर यसपटक भने सप्तरी–३ मा उनलाई कांग्रेसका दिनेशकुमार यादव, एमालेका ताराकान्त चौधरी र जनमतका सुरेन्द्र प्रसाद शर्माले कडा टक्कर दिने देखिएको छ ।
त्यस्तै, सप्तरी–२ मा डा.सीके राउतलाई आफ्नै पूर्वसहकर्मी सतिशकुमार सिंह, शरदसिंह यादव र पुराना ठूला दलका उम्मेदवारहरूको घेराबन्दी छ । एमालेका मोहम्मद रहमान, जसपाका उमेश यादव, नेकपाका सूर्यनाथप्रसाद यादव र कांग्रेसका रामकुमार यादव त्यहाँ परम्परागत दलका प्रतिस्पर्धी उम्मेदवार हुन्। रास्वपाका रामजी यादवलाई पनि प्रतिस्पर्धी मानिएको छ। गत निर्वाचनमा यहाँ राउतले दोब्बर बढी मतले उपेन्द्र यादवलाई पराजित गरेका थिए।
यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा राउतले ३५ हजार ४२ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरको ७ हजार ३ सय ४७ मत थियो । चौथों स्थानमा रहेका रास्वपा उम्मेदवार बरुणकुमार झाले भने २८१ मत मात्र प्राप्त गरेका थिए ।
यता, सर्लाही–२ मा राजेन्द्र महतो र पुराना हस्ती महेन्द्र राय यादवबीच पुनः भिडन्त हुँदैछ । यादवले यो क्षेत्रबाट २०५१ साल यताका सबै जसो निर्वाचन जितेका छन् । उनी कहिले एमाले, कहिले राजपा र कहिले माओवादीबाट निर्वाचित भएका हुन् । यसपटक उनी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छन् ।
सर्लाही–२ मा महेन्द्र राय यादवको व्यक्तिगत प्रभाव धेरै बलियो छ । बारम्बार पार्टी फेरेका यादव जुन पार्टीबाट उम्मेदवार बने पनि जित्ने गरेका छन् । गत चुनावमा पनि यादवका निकटतम प्रतिस्पर्धी महतो नै थिए। यादवले २३ हजार ५ सय २९ मत प्राप्त गर्दा महतो २१ हजार ५ सय १८ मतमा समेटिए ।
यसपटक कांग्रेसबाट डा। सरोजकुमार यादव उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि लहर चलेको छ। रास्वपाका रविन महतो उम्मेदवार छन्। डा.अमरेशकुमार सिंहको प्रवेशपछि सर्लाहीका सबै क्षेत्रमा पहिलेको तुलनामा रास्वपाको लहर बढेको छ। जसले त्यहाँको परम्परागत चुनावी नतिजालाई उथलपुथल पार्ने सम्भावना बलियो देखिन्छ।
