निर्वाचन सुरक्षामा गम्भीर हुन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचित सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन्।

सोमबार काठमाडौंमा नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसेढुङ्गा भएको भन्दै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचित सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन्।

नेपाल प्रहरीको बिगतदेखि वर्तमानसम्मको क्रियाकलापले प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने प्रमाणित भएको उनले बताइन्। प्रधानमन्त्री कार्कीले कुनै राजनीतिक प्रभाव,दबाव वा पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन समेत दिइन्। उनले सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको धारणा राखिन्।

उनले परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखा परिरहेका अवस्थामा प्रहरी निरीक्षकको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही, एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा जोड दिइन्।