प्रहरी सङ्गठन नागरिक सेवामा समर्पित छ: महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अनेकौँ उतार चढावकाबीच प्रहरी सङ्गठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन्।

सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औँ समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौँ उतार चढाव, जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको बताए ।

उनले यसबीचमा भएका बिभिन्न घटनाक्रममापछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुनः नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको बताए ।

उनले नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पङ्क्तिमा उभिएर सरकारको उपस्थिति जनाएको बताए।

कार्कीले समय, युग तथा परिवेश अनुसार राज्यको फस्र्ट रेस्पोन्डर र कानुन कार्यान्वयन गर्ने निकायमा कार्यगत स्वायत्तता, वैज्ञानिकीकरण र साधन स्रोतमा युग परिवर्तन सुहाउँदो सरकारको लगानी आवश्यक रहेको उल्लेख गरे।

हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व वृद्धि हुँदै गएको स्मरण गराउँदै उनले अझ लगनशील हुन निर्देशन दिए । दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने उनको भनाइ छ । समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरी ९२ प्रहरी निरीक्षक दिक्षित भएका छन्।