नेविसंघको पहलमा त्रि–चन्द्र क्याम्पसमा कम्प्युटर प्रिन्टेड क्यारेक्टर सर्टिफिकेट लागू

काठमाडौं। नेपालको पहिलो ऐतिहासिक क्याम्पस त्रि–चन्द्र बहुमुखी क्याम्पसमा लामो समयदेखि हातैले लेखिँदै आएको क्यारेक्टर सर्टिफिकेट अब कम्प्युटर प्रिन्ट प्रणालीमार्फत वितरण हुने भएको छ। विभिन्न चरणका वार्ता र संवादपछि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

यस सुधारको मुख्य पहल नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गरेको बताइएको छ। नेविसंघको निरन्तर दबाब र क्याम्पस प्रशासनसँगको समन्वयपछि आधुनिक, व्यवस्थित तथा त्रुटिरहित प्रणाली लागू गरिएको जनाइएको छ।

नेपाल विद्यार्थी संघ त्रि–चन्द्र बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष अमृत बहादुर शाहीले कम्प्युटर प्रिन्टेड क्यारेक्टर सर्टिफिकेट लागू हुनु विद्यार्थीका लागि सकारात्मक र ऐतिहासिक कदम भएको बताए। उनले यस निर्णयका लागि क्याम्पस प्रशासनलाई संगठनको तर्फबाट विशेष धन्यवादसमेत व्यक्त गरेका छन्।

क्याम्पस प्रशासनले पनि नयाँ प्रणालीले सेवा प्रवाहलाई छरितो, विश्वसनीय र समयानुकूल बनाउने विश्वास व्यक्त गरेको छ। विद्यार्थीहरूलाई समेत यसले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।