मेरो फेसबुकमा राजाको फोटो हालेर भ्रम फैलाइयो: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा। स्वर्णिम वाग्लेले आफूविरुद्ध भ्रम सिर्जना गर्ने ठुलो प्रयास भइरहेको बताएका छन् । बिहीबार तनहुँ-१ मा मतदातासँग कुराकानी गर्दै वाग्लेले विपक्षीहरू आफुबीरुद्ध भ्रम छर्न लागेको बताए ।
उनले भने, ‘२४ घण्टाभित्र मेरो पेजमा गएर १३५ चोटी एडिट गरेछन् । हुँदाहुँदा एकचोटी मेरो फोटो हटाएर राजा ज्ञानेन्द्रको फोटो पनि हालेछन्। यो रमिता हो । यिनीहरू डराएका पनि हुन्, तर्सेका पनि हुन्।
उनले आफ्नो निष्कलङ्क छवि तनहुँका जनताले चिनिसकेको बताउँदै भने, ‘अलिकति सेतो, निष्कलङ्क छविमा हिजो छ्यापेपछि अलिकति टाँटा बस्छ नि। त्यस्तै आश गरेका छन् यिनले । तर, जनताले चिनिसकेपछि त्यसको केही अर्थ छैन।
अघिल्लो निर्वाचनमा पनि विभिन्न खाले हल्ला फैलाएको बताउँदै वाग्लेले त्यो बेला पनि जनताले आफूलाई पत्याएकाले त्यसले असर नगरेको टिप्पणी गरे।
‘तनहुँमा मात्र होइन, देशैभरी घण्टी बज्नेवाला छ । नेपालको संसदीय इतिहासमा नदेखिएको उभार अहिले आउँदै छ,वाग्लेले भने।
