विश्वकप वार्म-अप: क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य
काठमाडौं। भारतको चेन्नईमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको वार्म-अप खेलमा क्यानडाले नेपालसामु जितका लागि १६२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो। एक समय क्यानडालाई कम स्कोरमा रोक्ने नेपालको प्रयासमा अन्तिम ओभरहरूमा भएको आक्रामक ब्याटिङ बाधक बन्यो।
क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रन बनाए। उनले ३६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै इनिङलाई सम्हालेका थिए। मध्यक्रममा कन्वरपाल तथगुरले २५ रन जोडे।
तर, इनिङको अन्त्यतिर श्रेयस मोभा र जष्करण सिंहले आक्रामक ब्याटिङ गर्दै क्यानडालाई सम्मानजनक योगफलसम्म पुर्याए।
श्रेयस मोभाले १९ बलमा अविजित ३८ रन बनाए भने जष्करण सिंहले ११ बलमै २१ रन प्रहार गरे। क्यानडाले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले निकै कसिलो बलिङ गरे। उनले आफ्नो स्पेलको ४ ओभरमा मात्र १४ रन खर्चिएर २ महत्त्वपूर्ण विकेट लिए।
यस्तै, कुशल भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे। ललित राजवंशी र करण केसीले विकेट लिन सकेनन्।
