बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या १३ पुग्यो

काठमाडौं। सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीवार राति एउटा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुने मानिसको सङ्ख्या १३ पुगेकोछ।

आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले बताएका छन्।

घटनामा ३६ जना घाइते भएका छन्। उनीहरूले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस राति करिब ८ बजेतिर पुर्चौडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो।

बस सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।