कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सञ्चालन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम गर्ने भएको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीसम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ ।
‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ’, निर्णयमा भनिएको छ ।
यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला र क्षेत्र र पालिका र वडामा केन्द्रित रहन भनिएको छ ।
यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ ।
यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौँ उद्घोषका साथ आ–आफ्नै वडामा खट्न पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई कांग्रेसले भनेको छ।
