असई हुँ भन्दै लाखौँ ठग्ने महिला पक्राउ
काठमाडौं। रौतहट प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को असई भएको भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएकी एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–६ स्थायी घर भई हाल सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर टोल बस्दै आएकी अन्दाजी ३५ वर्षीया नेहा, निशा, पुनम कुमारी भनिने निर्मला महतो रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रहरी नायब उपरीक्षक रूपा लाबुङका अनुसार महतोविरुद्ध सर्लाही लालबन्दीका राजेश्वर साह, रौतहट चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्मा, प्रवीण साह तथा गुजरा नगरपालिका निवासी विजय साहले लाखौँ रुपैयाँ ठगी भएको जाहेरी दिएका थिए। सोही आधारमा महतोलाई पक्राउ गरिएको उनले बताइन्।
प्रहरीका अनुसार पीडित राजेश्वर साहसँग करिब एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा महतोसँग चिनजान भएको थियो।
त्यसक्रममा महतोले आफू सीआईबीको असई भएको, नवलपुरमै डेरा गरी बस्ने तथा मलंगवा भन्सारका कर्मचारीहरूसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै सस्तोमा स्कार्पियो गाडी निकालिदिने प्रलोभन देखाएकी थिइन्।
पुरुषको नाममा गाडी निकाल्दा कर बढी लाग्ने भन्दै उनले पीडित साहकी श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र ६–७ थान पासपोर्ट साइज फोटो लिई भन्सार कर तिर्नुपर्ने बहानामा पटक–पटक गरी रु.१ लाख ५० हजार नगद ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीको अनुसन्धान अनुसार महतोले पुनम कुमारीको सक्कल नागरिकता र फोटो प्रयोग गरी आफू नै पुनम कुमारी भएको झूटो विवरण दिँदै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्र समेत बनाएकी थिइन्।
त्यसैगरी सोही पहिचान प्रयोग गरी माछापुच्छ्रे बैंक लिमिटेड, चन्द्रपुर शाखामा पुनम कुमारीको नाममा खाता खोल्दै चेक प्रयोग गरी ठगी कार्यलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ।
आफू सीआईबीको असई भएको प्रभाव देखाउँदै महतोले चन्द्रपुरनिवासी सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट रु। २ लाख ७४ हजार बराबरको सुनचाँदी उधारोमा खरिद गरेकी थिइन्।
यस्तै गुजरा नगरपालिका निवासी विजय साह बनियाँसँग रु. ५ लाख नगद सापटी, चन्द्रपुरका प्रवीण साहको किराना पसलबाट उधारोमा सामान खरिद, स्कार्पियो गाडी भाडामा लिई रु. १ लाख २६ हजार भाडा रकम नतिर्ने, साथै पर्याप्त मौज्दात नभएको बैंक खाताबाट चेक काटी पीडितहरूलाई दिएको खुलेको छ।
महतोलाई माघ ४ गते चन्द्रपुर नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिए पनि घटनाको वास्तविकता बुझ्न करिब २० दिन लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगारपुरका प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिइन्।
उनका अनुसार प्रतिवादीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। यस घटनामा थप पीडितहरू हुनसक्ने सम्भावना रहेकाले आवश्यक परे उजुरी दिन प्रहरी प्रशासनले आग्रह गरेको छ।
