चुनाव लागेसँगै दिनहुँ पार्टी प्यालेन्समा दलहरुको सभा,जनता खानामा बिक्ने कि सक्षम नेतृत्व छान्ने ?

पछिल्लो समय साना–ठूला सबै कार्यक्रम पार्टी प्यालेन्समा गर्न थालिएको छ । बर्थ डेदेखि बेवी सावर, विवाह, ब्रतवन्धसम्म पार्टी प्यालेन्समा राखिने गरिएको छ । पार्टी प्यालेन्समा प्लेट र परिकारअनुसार खानाको मूल्य तोकिएको हुन्छ । एक प्लेटको १२ सयदेखि तीन हजार रुपैयाँसम्म पर्छ । पार्टी प्यालेन्समा कार्यक्रम राखिएबापत अलग्गै शुल्क पनि तिर्नुपर्छ ।

पार्टी प्यालेन्सअनुसार एक दिनकै लाखौं शुल्कसमेत हुन्छ । आजकल घर सानो जग्गामा बनाइने हुँदा मानिसहरु ससाना भोजसमेत पार्टी प्यालेसमै राख्न रुचाउँछन् । पैसा तिरेपछि केही दुःख गर्न नपर्ने भएपछि पार्टी प्यालेन्स नै रोजिन्छ । तर, पार्टी प्यालेन्सका खानेकुरा खाँदा धेरै बिरामी पर्ने गरेका छन् । हामी पार्टी प्यालेन्सलाई चर्को शुल्क त तिछौं, उसले कस्तो र कुन सामान प्रयोग गरेर खाना बनाउँछ ? त्यो चाँहि हेर्दैनौं।

सित्तैमा पाए ढुंगा पनि नछोड्ने नेपालीहरुको बानी छ । अझ पार्टी प्यालेन्समा त मिठोमिठो परिकार बनाइएको हुन्छ । देख्दै खाउखाउ लाग्ने । त्यसैले, एउटै व्यक्तिले दुई–तीन प्लेटसम्म खान्छन् । तर, बाहिरबाट हेर्दै खाउ लाग्ने परिकार केबाट बनाइएको हुन्छ ? कुहिएको सामान त प्रयोग गरिएको छैन ? पार्टी प्यालेन्समा कार्यक्रम राख्नेदेखि त्यहाँ खान पुगेकासम्मले खोजनीति गर्दैनन् । उनीहरुलाई केबल खानमात्र मतलब हुन्छ ।

अनि त्यस्तो खानेकुरा खाँदा अस्पताल भर्ना हुनुपर्छ । पार्टी प्यालेन्समा महिनौंदेखिको बासी माछामासु, कुहिएको वा सडिएको तरकारी, म्याद गुज्रिएका मरमसलालगायत सामाग्री प्रयोग गरेर खानेकुरा बनाउने गरिएको व्यापक गुनासो सुनिन्छ । सँगै, विदेशी रक्सी भनेर घरेलु रक्सी दिइने वा म्याद गुज्रिएका हुनेसमेत गुनासो छ । यो थाहा पाएपछि अहिले धेरैले पार्टी प्यालेन्समा कार्यक्रम राख्नै छोडेका छन् ।

सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदसय निर्वाचन गराउँदैछ । चुनाव लागेसँगै राजनीतिक दलहरुले पार्टी प्यालेन्समा दिनहुँ कार्यक्रम राख्न थालेका छन् । लाखौंदेखि करोडौं खर्चिएर पार्टी प्यालेन्समा चुनावी सभा राखिरहेको अवस्था छ । सो सभामा मतदातासँगै आफ्ना कार्यकर्तालाई खाना खुवाइन्छ । तर, त्यो खाना खाँदा कतिपय थला परिरहेका छन् ।

गत माघ २३ गते शुक्रबार अपरान्ह ४ बजे भक्तपुरको सिद्ध पोखरीस्थित पार्टी प्यालेन्समा नेपाल मजदुर किसान पार्टीले चुनावी सभा राखेको थियो । सभामा भक्तपुर क्षेत्र नम्बर १, का मतदाता र मजदुरका कार्यकर्तासँगै भक्तपुर नगरपालिकाका मेयरलगायत कर्मचारीहरु सहभागी भएका थिए । सभाको चार दिनअगावै मतदाताको घरघरमा कार्ड पठाइएको थियो।

सभामा मजदुर किसान पार्टीबाट सांसदका उम्मेदवार प्रेम सुवाल, मेयर सुनिल प्रजापति र ५ नम्बर वडाका अध्यक्ष श्याम खत्रीलगायत अतिथिका रुपमा उपस्थित भएका थिए । त्यो सभा निकै भव्य थियो। ठूलो खर्च गरिएको थियो । थरीथरीका माछामासुदेखि गुलियो, अमिलो, रक्सीलगायत सबै थोकको व्यवस्था थियो ।

भक्तपुर १, मा मजदुर किसान पार्टीले ०४८ सालदेखि लगातार चुनाव जित्दै आएको छ । यहाँका स्थानीय तहमा पनि मजदुरबाट प्रतिनिधि चुनिएका छन् । साढे तीन दशकदेखि मजदुरले चुनाव जितेपनि सिन्को भाँचेको पाइँदैन । उल्टै यहाँका सरकारी, गुठी, ऐलानी, मठमन्दिर, राजपरिवारलगायतको जग्गा आफ्ना कार्यकर्ताको नाममा लगेको आरोप छ । चुनावी सभामा यो विषय स्थानीयले उठाएकासमेत थिए ।

‘सल्लाघारी आर्मी ब्यारेक, दुवाकोट जाने ट्याम्पो पार्क, सिर्जनानगर, राधेराधेलगायतको जग्गा ०२१ सालमा नापी हुँदा सरकारी, गुठी र ऐलानीमा राखिएको थियो रे । तर, तपाईंहरुको मिलेमतोमा आफ्ना कार्यकर्ताको नाममा लगिएको आरोप छ नि,’ अन्यत्रबाट आएर यहाँ जग्गा किनी घर बनाएका एक स्थानीयले प्रश्न उठाएका थिए । तर, उनको प्रश्नलाई सुवाल, प्रजापतिलगायतले बेवास्ता गरे ।

यो पटक सुवालले चुनाव हार्ने भक्तपुर १, का प्रायजसो स्थानीय बताउँछन् । राजस्व नउठाउने, आफ्ना कार्यकर्तालाई जागिर दिलाउने, सरकारी सम्पत्ति हड्पने, आफ्ना कार्यकर्तालाई ठेक्कापट्टा दिने, मापदण्डविपरीतका घरलगायत संरचनालाई सम्पन्नता प्रमाणपत्र बाँडेकोजस्ता आरोप सुवालसहित मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्ँछे, मेयर प्रजापतिलगायतमाथि छ । मजदुर किसान पार्टी अहिलेसम्म सरकारमा गएको छैन ।

बिजुक्ँछे र सुवाल सरकारमा भ्रष्टाचारीमात्र बस्ने भएकोले आफूहरु सरकारमा नगएको दाबी गर्छन् । तर, उनीहरुको सम्पत्ति छानबिन गर्ने हो भने एक नम्बरको भ्रष्टाचारी ठहरिने बताइन्छ । भक्तपुरमा जतिपनि अस्पताल, विद्यालय, इट्टाभट्टालगायत सञ्चालन भएका छन्, त्यसमा सबै बिजुक्ँछे, सुवाललगायतको लगानी रहेको आरोप छ । अनि सांसदको तलब भत्ताले मात्र यो सम्भव छ ? सँगै उनीहरुले जग्गा पनि प्लटिङ गर्दै आएका छन् ।

त्यसैले, अब जनता सचेत हुनुपर्छ । यो त एउटा उदाहरणमात्रै हो । चुनाव लागेसँगै राजनीतिक दलहरुले दिनैपिच्छे पार्टी प्यालेन्समा कार्यक्रम राखिरहेका छन् । सित्तैमा मिठो खान पाउने भएपछि आम सर्वसाधारण त्यहाँ पुग्छन् । तर, खानबाट उनीहरुले भोट साटिरहेको अवस्था छ ।

दलको चुनावी सभामा टन्न खाएर आएपछि उसैलाई भोट दिइन्छ । नदिए पछि कारबाहीसमेत भोग्नुपर्छ । अनि जनता खानामा बिक्दा देशले खराब नेतृत्व पाउँछ । शहरी इलाकाका जनता पार्टी प्यालेन्सको खानामा बिक्दा दुर्गम जिल्लाका जनता एक बोरा चामल, एक जोर नयाँ कपडामा बिक्नु स्वभाविक हो ।

आफैं खानामा बिकेर मतदान गरी खराब नेतृत्वलाई पदमा पुर्याइन्छ । पछि चाँहि भ्रष्टाचार भयो भन्दै आन्दोलनमा उत्रिन्छ । यो नेपालीको परिपार्टी नै भइसक्यो । यो पटक पनि यस्तो नदोहोर्याऔं । खानासँग भोट नसाटौं । किनकि भोट केबल नेतृत्व चयन होइन, देशको भविष्य निर्माण गर्ने माध्यम हो । त्यसकारण कुनै लोभ लालचमा नपरी असल, इमान्दार नेतृत्वलाई मात्र भोट गरौं ।

यदि कुनै उम्मेदवार वा दलले लाखौं, करोडौं खर्च गरेर चुनावी कार्यक्रम गरिरहेको छ भने उसले सत्तामा पुगेपछि अवश्य भ्रष्टाचार गर्छ । जनताले यो कुरा बुझ्न आवश्यक छ। लाखौं, करोडौं खर्चिएर चुनावी कार्यक्रम गर्ने दल वा उम्मेदवारलाई मतदान नगरौं । असल व्यक्तिलाई चिनौं र जिताऔं । नभए देशमा आन्दोलन भइरहन्छ । र, मुलुक र जनता दुवैले सधैं दुःख खेपिरहनुपर्ने छ । त्यसकारण जनता सतर्क हौं । खानामा नबिकौं, सक्षम नेतृत्व छानौं ।