एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः आईजीपी कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन्।
सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरु प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाई थियो ।
सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने प्रतिष्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्दै लैजाने काममा नेपाल प्रहरी र सञ्चारकर्मीहरुले बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरुले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताए।
प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने खालको समाचार सम्प्रेषण हुन नदिने कुरामा पनि सञ्चार माध्यमहरुले सचेत भएर काम गर्नुपर्ने बताए।
