विदेश पठाउने भन्दै ६८ लाख ठगेका कन्सल्टेन्सी सञ्चालक सिलवाल पक्राउ

काठमाडौं। विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ह्यापी एजुकेसन कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१० मा रहेको कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय बद्री सिलवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।  

चितवनको राप्ती घर भएका सिलवालले अध्ययन भिसामा विदेश पठाउँछु भनेर ६८ लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। आरोपीले ‘पोर्चुगल पठाउने प्रक्रिया गर्दैछु’ भनेर २१ लाख ७० हजार रकम जम्मा गर्न लगाएर कन्सल्टेन्सी बन्द गरेर हिँडेका थिए।

उनलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले माघ २० मा पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ। कन्सल्टेन्सी बन्द गरेपछि परिचय बदलेर केदार सिलवालको नामबाट थप पीडितहरूलाई विदेश पठाउँछु भनेर रकम असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।