सेना र प्रहरीलाई भारतका सात सय गाडी
काठमाडौं । फागुन २१ गते हुने निार्वाचनका लागि भारत सरकारले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी करिब सात गाडी दिएको छ।
भारत सरकारल प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ६ सय ५० वटा गाडी अनुदान सहयोगस्वरूप उपलब्ध गराएको छ भने नेपाली सेनालाई छुट्टै ५० वटा गाडी उपलब्ध गराएको छ ।
तीमध्ये ५ सय ३८ वटा गाडी नेपाल आइसकेका छन् भने भारतीय सेनाले भारत–नेपाल सीमा क्षेत्रको निगरानी गर्न नेपाली सेनालाई ५० वटा सैन्य प्रयोजनका गाडी दिने भएको छ ।
गृहमज्न्त्रालय अनुसार निर्वाचन प्रयोजनका लागि आएका गाडीहरु काठमाडौँमा आयोजना हुने औपचारिक कार्यक्रममा नेपालका लागि भारतीय राजदूतमार्फत औपचारिक रूपमा प्रदान गरिने भएको छ । नेपाल सेनाको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धताको प्रतीक भएको भारतीय सेनाले जनाएको छ ।
गृहमन्त्रालयका अनुसार भारतले प्रदान गरेका गाडीहरूमध्ये महिन्द्रा कम्पनीका स्कार्पियो र बोलेरो जीपलगायतका हल्का सवारीसाधन नेपाल आइपुगेका छन् । बाँकी १ सय १२ वटा ठूला तथा हेभी गाडीहरू आउने क्रममा रहेका छन् । अब आउनेमा सुरक्षा निकायले प्रयोग गर्ने ट्रकहरू रहेका छन् ।
यो सहयोग पूर्णतः अनुदानमा आधारित भएको र निर्वाचन प्रयोजनका लागि दिइएको हो । भारतले अनुदानमा दिएका गाडीहरु अर्थ मन्त्रालयले आवश्यक भन्सार तथा कर छुटको सहजीकरण गरिसकेको छ ।
अब यी गाडीहरूको प्रयोग, सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा गृह मन्त्रालय र निर्वाचन आयोगको समन्वयमा गर्ने बताइएको छ । भारतीय दूतावासको तथ्यांकअनुसार पछिल्ला १८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई करिब ३ हजार सवारीसाधन उपलब्ध गराइसकेको छ ।
हरेक निर्वाचनमा भारतले नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ । भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरुको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरुमा समेत आगजनी हुँदा भवन र सवारी साधनहरु नष्ट भएका थिए।
भारत सरकारले अनुदानमा दिएका गाडीले प्रयोगमा आउदा केही राहत हुने प्रहरी प्रधानकार्यालयले जनाएको छ। अनुदानमा आएका गाडीहरु प्रहरी प्रधानकार्यालयले आवश्यकताको आधारमा जिल्ला प्रहरी कार्यालयलाई पठाउने भएको छ।
