नेकपा नै सबैभन्दा नयाँ पार्टी हो :प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्। पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेकपा सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका हुन् ।
उनले नयाँ हुनुको अर्थ केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र एजेण्डा बोक्नु भएको स्पष्ट पारे । उपत्यकाभित्र रहेका विभिन्न क्षेत्रका मतदाताहरूलाई निर्वाचनमा सहभागी गराउन र नामावली भएको स्थानमा केन्द्रित गर्न कार्यकर्ताहरूलाई योजनावद्ध र संस्थागत रूपमा लाग्न निर्देशन दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यसको प्रत्यक्ष प्रभाव निर्वाचनको परिणाममा पर्ने भन्दै आजैदेखि तयारी थाल्न आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र उत्पीडित वर्ग, जाति, तथा समुदायको पहिचान स्थापित गर्ने मुद्दा आफ्नो पार्टीको मुख्य आधार भएको बताए ।
उनले भने, ‘अहिले सबभन्दा नयाँ पार्टी हामी भयौँ, नेपाली कम्युनिष्ट पार्टी । योभन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन । तपाईं नामकै दृष्टिकोणले भन्यो भने पनि यो पहिलो पटक नेपाली कम्युनिष्ट पार्टी भनेर हामीले भाषा व्याकरणको दृष्टिकोणले पनि सबै खालका पुच्छरहरू हटाउने दृष्टिकोणले नै हामी नयाँ भयौँ । गठन भएको पनि कात्तिक १९ गते, सबभन्दा नयाँ पार्टी भयो । विचारको हिसाबले भन्ने हो भने पनि यो पार्टीको भन्दा नयाँ विचार अरू कसैको पनि छैन । संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक पार्टी, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको अधिकार र पहिचान स्थापित गर्ने पार्टी । यो विचारभन्दा अर्को र नयाँ विचार कसैको पनि छैन । तर अहिले एउटा भाष्य बनाउन खोजिएको छ सोसल मिडियाबाट । त्यो भाष्य के भने नयाँ भनेको विचार होइन, नयाँ भनेको मान्यता होइन, सिद्धान्त होइन, राजनीतिक मुद्दा होइन, नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको छ ।

