विभिन्न ठाउँमा शङ्कास्पद बस्तु, डिस्पोज गर्दा परालको गुजुल्टो र बियरको बोतल

काठमाडौं । निर्वाचन बहिष्कार गरेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले आज नेपाल बन्दको घोषणा गरेको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा सर्वपक्षीय सरकार गठनको मागसहित नेपाल बन्दको घोषणा गरिएको छ ।

पार्टीले नेपाल बन्द गर्नुको अन्य कारणहरूमा जनसंविधान निर्माण, भ्रष्टाचार र कालोबजारी अन्त्य, युवाहरूलाई स्वदेशमै रोकेर रोजगारीको सिर्जना, भूमिहीनहरूलाई जमिनको व्यवस्था, शिक्षा, स्वास्थ्य र यातायात निःशुल्क गर्नलगायतका कारण नेपाल बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ । बन्दको प्रभाव सामान्य देखिएको छ।

यसैबीच मकवानपुर, भैरहवा र झापामा बिहानै शङ्कास्पद बस्तु भेटिएका छन्। ती शङ्कास्पद बस्तु सेनाले परीक्षण गरेपछि कुनै पनि विष्फोटक पदार्थ नभएको भेटिएको छ।

आज बिहान हेटौँडास्थित चिसापानी चोकमा बम जस्तो देखिने शङ्कास्पद बस्तु भेटिएको थियो । तर परीक्षण गर्दा कार्टुनमा फोहोर हालेको पाइएको हो।

झापाको शिवसताक्षीस्थित कन्काई पुलमा पनि पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा ’नेपाल बन्द होसियार’ लेखिएको कागज राखी ढुङ्गाले थिचेर पुलको बिच भागमा राखिएको अवस्थामा राखिएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर जाँच गर्दा त्यहाँ कुनै पनि विष्फोटक पदार्थ नरहेको पाइएको हो। उक्त वस्तु बम भएको आशङ्कामा बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन रोकिएकामा अहिले भने राजमार्ग पुनः सञ्चालनमा आइसकेको छ।

बन्दको क्रममा भैरहवाको लुम्बिनी गेट नजिकै शङ्कास्पद वस्तु फेला परेको थियो। बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौँ लेखेको हुँदा शङ्कास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो।

नेपाली सेनाको टोलीले डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ।