देशमा अझै धेरै गर्न बाँकी छ: केपी ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएको छैन भन्ने भाष्य गलत भएको बताएका छन्।

शनिवार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले देशमा केही हुँदै गएको र अझै धेरै गर्न बाँकी रहेको दाबी गरे।

देशमा केही भएको र अझै धेरै गर्न बाँकी रहेको उनको भनाइ थियो। अध्यक्ष ओलीले विकास, निर्माणका काम गर्दै जाने विषय भएको पनि बताए।

ओलीले भने,‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ तर अझै हुन बाँकी छ। त्यो गर्दै जानुपर्छ। शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि सुधार आएको छ। अझै गर्दै जानुपर्नेछ।

अध्यक्ष ओलीले आफ्नो निर्वाचन झापा क्षेत्र नम्बर ५ मा पनि पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम भएको बताए।