डोल्पाामा सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री पुर्‍याइयो

डोल्पा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुगेको छ । आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री डोल्पा पुर्‍याइएको हो।

नेपाली सेनाको स्काई ट्रकबाट सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत कृष्ण बहादुर रावतले जानकारी दिए । मतपेटिका भने जिल्लामै मौज्दात रहेको छ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन्। जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको भने निर्वाचनका लागि ४१४ कर्मचारी खटाइएको छ।