नेकपा बहुमतका कार्यकर्ता धमाधम पक्राउ पर्दै,इन्चार्ज र जिल्ला सचिव पनि पक्राउ

काठमाडौं। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)का केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक इन्चार्ज सुन्तली थोकर र जिल्ला सचिव प्रकाश विशुंखे पक्राउ परेका छन्।थोकर नेकपा बहुमतकी केन्द्रीय सदस्य पनि हुन् भने विशुंखे पाँचखाल इन्चार्ज हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार,थोकरलाई पनौती एरिया तथा विशुंखेलाई पाँचखालबाट पक्राउ गरिएको हो। निर्वाचन बिथोल्ने रणनीतिको आशंका तथा व्यवसायीहरुलाई धम्क्याएको आरोपमा पक्राउ गरिएको एसपी शाहले बताए।

उनीहरूमाथि फागुन २१ मा हुन लागेको निर्वाचनको बिरोध तथा गत फागुन ५ गते पार्टीले नेपाल बन्दको आयोजना गरी विभिन्न व्यवसायीलाई धम्क्याएको आरोप छ।

पक्राउ परेका थोकर र विशुंखेलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी शाहले जानकारी दिए ।

यस अघि काठमाण्डौ प्रहरीले गत फागुन ५ गते काठमाण्डौंको खिचापोखरीबाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई पक्राउ गरेको थियो। नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेको निर्वाचनको विरोध गर्दै बहिष्कार गर्ने निर्णय गरेको थियो।