नेतृत्व गर्ने अवसर पाए आगामी पाँच वर्ष पूर्ण सदुपयोग गर्छु: गगन थापा
काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले सरकारको नेतृत्व पाए आगामी ५ वर्ष सुशासन र विकासका लागि सदुपयोग गर्ने बताएका छन्।
काठमाडौँमा आइतबार आयोजित पार्टीको चुनावी सभामा उनले आगामी पाँच वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको जिकिर गरे।
अबको पाँच वर्षको अवधि सरकार बनाउने र टिकाउनेमा जाने होइन । अबको अवधि परिणाम दिने ठाउँमा जानु पर्दछ। हामी यो ५ वर्षको प्रत्येक दिनको प्रत्येक क्षण नेपालको सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौँ एक क्षण पनि खेर नफाली’, उनले भने, ‘त्यसका निम्ति एउटा सोचका साथमा, संकल्पका साथमा र योजनाका साथमा हामी आएका छौँ।’
सभापति थापाले विगत केही समय यता सबै दल सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम नआएको तर्क गरे। उनले मुलुकलाई अघि बढाउन सबै दलहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे।
