पोखरामा युवतीको हत्या, सुटकेसभित्र भेटियो शव

पोखरा । पोखरा–१७ ड्यामसाइडनजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको एक युवतीको शव फेला परेको छ।आइतबार बिहान पुलमुनि फालिएको सुटकेस शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको हो ।

प्रहरीका अनुसार २२ देखि २५ वर्ष उमेरकी देखिने ती युवतीको हातमा मनिषा विश्वकर्मा लेखिएको ट्याटु खोपिएको छ।

ती युवतीको साथबाट मेडिकल कार्ड पनि फेला परेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरेर तन्नाले बेरेर सुटकेसमा हालेर फालिएको हुन सक्ने कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

युवतीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

ती युवती पोखरा ड्यामसाइडकै एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ । घरबेटीले उनीहरूको परिचय खुल्ने कागजात लिएर कोठा भाडामा दिएको पत्ता लागेको छ ।

उनीहरू श्रीमान्–श्रीमती बनेर कोठा भाडामा लिएका थिए र उनीहरूले जापानी भाषा सिक्ने बताएका थिए । श्रीमान् अहिले फरार छन् । उनको आधार कार्ड भारतको सिलगुडीको देखिएको छ।